काठमाडौं, १३ जेठ – अमेरिका र उत्तर कोरियाबीच १२ जुनमा हुने भनिएको शिखर सम्मेलन रद्द गरिएको घोषणा भएपनि प्योङयाङ र सउलका नेताहरू सम्मेलनको सम्भावनाका बारेमा कुराकानी गरिरहेका छन् ।
उत्तर र दक्षिण कोरियाका नेताहरू शनिवार सीमावर्ती गाउँ पान्नुनजोममा भेटेर यस विषयमा कुरा गरे । अमेरिका आफैंले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका शासकक किम जोङ–उनबीचको सम्मेलनको सम्भावना
कायम रहेको संकेत दिएको छ ।
बिहीवार ट्रम्प प्रशासनले पत्र जारी गरेर १२ जुनमा सिंगापुरमा हुने बैठक रद्द भएको घोषणा गरेको थियो । ट्रम्पले एक पत्रमा भने, ‘म तपाईंसँग बैठकमा बस्ने विषयमा आशावादी थिएँ तर दुःखको कुरा तपाईंले हालै जारी गरेका बयानमा
क्रोध र खुला शत्रुताको आभास दिलाउनुभयो । यस्तो बेलामा यो बैठक तय गर्नु ठीक छैन भन्ने मलाई लाग्छ ।’
बैठक रद्द भएको घोषणा गरिएपछि उत्तर कोरियाले खेद जनाउँदै कसैसँग पनि जस्तो किसिमको भेटघाटका लागि तयार रहेको बतायो । यसमा ट्रम्पले प्रतिक्रिया दिँदै यो राम्रो खबर भएको बताएका थिए ।
अनि ट्रम्पले शुक्रवार उनको प्रशासन उत्तर कोरियाका नेताहरूसँग सम्पर्कमा रहेको बताए । ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा उनले भने, ‘के हुन्छ, हेरौं । हामी उनीहरूसँग कुराकानी गरिरहेका छौं ।’
एजेन्सी