११ असार २०८३, बिहीबार

बजेटबारे पूर्वगभर्नरको टिप्पणी – अर्थमन्त्री दबाबमा परे, स्वविवेकले ल्याउन पाएनन् !

बजेटबारे पूर्वगभर्नरको टिप्पणी – अर्थमन्त्री दबाबमा परे, स्वविवेकले ल्याउन पाएनन् !

काठमाडौं, १६ जेठ – झण्डै दुईतिहाइ बहुमत रहेको वामपन्थी सरकारले संसदमा पेश गरेको आर्थिक वर्ष २०७५/२०७६ को बजेट आएसँगै मिश्रित टिप्पणी आएका छन् । अधिकांश विश्लेषकहरूले बजेट स्पष्ट नभएको बताएका छन्  ।
अर्थविश्लेषक एवं पूर्वगभर्नर तिलक रावलले बजेट योजनाविहीन रूपमा आएको टिप्पणी गरे । ‘बजेटमा नयाँ कुरा केही आएन । यो यथार्थपरक भन्दा पनि सम्झौताको पुलिन्दा जस्तो देखिन्छ,’ लोकान्तरसँगको प्रतिक्रियामा रावलले भने ।
अर्थमन्त्री डा. युवराज खतिवडाले स्वविवेकले बजेट ल्याउन नसकेको रावलको बुझाइ छ । 

उनी भन्छन्, ‘निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि सांसदलाई रकम दिनुहुँदैन भन्ने लाइन रहेका अर्थमन्त्रीले प्रधानमन्त्रीले भनेपछि कम्प्रोमाइज गरेजस्तो देखिन्छ ।’ 

स्पष्ट योजनाका आधारमा बजेट आउने अपेक्षा गरिरहेका बेला प्रधानमन्त्रीले योजनाविहीन बजेट ल्याउन दबाब दिएको देखिएको जिकीर गर्दै रावलले प्रधानमन्त्रीले  आफ्नो कार्यकाल उखानटुक्कामै बिताउने डर लागेको टिप्पणी गरे ।

उनले भने, ‘खै, नीतिनियम केही भएन । योजना पनि केही आएनन्, पूर्वाधार कसरी निर्माण गर्ने, ५ वर्ष ५ लाखलाई रोजगारी कसरी दिने, कुन क्षेत्रमा कसरी विकास गर्ने भन्ने कुरा त आउनुप–यो नि ! विगत १० वर्षमा ५० प्रतिशतले औद्योगिक उत्पादन घटेको छ । अनि युवाहरूका लागि के गर्ने योजना हो ?’

वामपन्थी विश्लेषक हरि रोकाले पनि बजेट अस्पष्ट भएको टिप्पणी गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेताहरूले पनि बजेट योजनाविहीन भएको टिप्पणी गरेका छन् ।

आठ प्रतिशतको आर्थिक वृद्धिको अपेक्षासहित अर्थमन्त्री डा युवराज खतिवडाले मंगलवार संसदमा १३ खर्ब, १५ अर्ब बराबरको बजेट पेश गरेका थिए ।    

salt training

कमेन्ट गर्नुहोस्