
काठमाडौं, १७ जेठ– नेपाली क्रिकेटका लेग स्पीनर सन्दीप लामिछानेले वेष्ट इन्डिजविरुद्ध विश्व ११ टिमबाट खेल्दैछन् । नेपाली समयअनुसार राति १० बजेर ४५ मिनेटमा शुरु हुने खेलमा उनी खेल्न लागेका हुन् ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेरे चर्चा बटुलेका सन्दीपले वेष्ट इन्डिजविरुद्ध खेल्न लागेका हुन् । उनको यो खेललाई पनि आईपीएल जस्तै चासोका साथ लिइएको छ ।
इंग्ल्याण्डको लर्डस्मा हुने खेलमा नेपालका सन्दीपले विश्व ११ बाट खेल्ने छन् । विश्व ११ टिमबाट खेल्न लागेका सन्दीप पहिलो नेपाली खेलाडी हुन् ।
सन्दीप रहेको विश्व एघारको कप्तानी पूर्व पाकिस्तानका कप्तान साहिद अफ्रिदीले गर्दैछन् । टिममा सन्दीपसँगै कप्तान साहिद अफ्रिदी, तमिम इक्वाल, रासिद खान, सोयब मलिक, दिनेश कार्तीक, मिचेल म्याक्लागन, साम विलिङ्स, थिसारा परेरा, आदिल राशिद, मोहम्मद सामी र लुकी रोन्ची रहेका छन् ।