
काठमाडौं, १७ जेठ – इटालीमा प्रधानमन्त्री पदमा नियुक्त गरिएका जोसेप्पे कोन्ते सरकार बनाउने दाबी पेश गर्नका लागि ट्याक्सी चढेर राष्ट्रपति भवन पुगेका छन् । उनले सरकारी लिमोजिन गाडी चढ्न अस्वीकार गरेका छन् ।
इटालीको एक टीभी च्यानलले जारी गरेको भिडियोमा कोन्ते राष्ट्रपति भवन ट्याक्सी चढेर पुगेको देखिन्छ । उनले ट्याक्सी भाडा तिरेर आफैं ढोका खोलेर भवनभित्र पसेको पनि देखिन्छ ।
त्यहाँ उपस्थित सुरक्षाकर्मीले उनलाई स्यालुट त गर्छन् तर गाडीको ढोका खोल्दैनन् । कोन्तेलाई चिन्नेहरूले यो उनको सामान्य कदम भएको र यसमार्फत कुनै ठूलो सन्देश दिने उनको उद्देश्य नरहेको बताएका छन् ।
त्रिपन्न वर्षीय कोन्ते प्राध्यापक हुन् र उनलाई राजनीतिको कुनै अनुभव छैन । तर देशमा तीन महिनासम्म चलेको राजनीतिक संघर्षपछि दक्षिणपन्थी दलले उनलाई प्रधानमन्त्री पदका लागि नामांकित गरेको थियो ।
चुनावमा कुनै पनि दलले बहुमत पाएको थिएन । त्यसपछि अनेकौं सम्झौतामार्फत कोन्तेलाई छानिएको थियो ।
उनको शिक्षाका विषयमा पनि विवाद उठेका छन् । उनले बायोडाटामा सन् २००८ देखि २०१२ सम्म न्युयोर्क विश्वविद्यालयमा पढेको लेखेका छन् । तर विश्वविद्यालयले आफ्नो रेकर्डमा कोन्तेको नाम नभएको बताएको छ ।
एजेन्सी