
काठमाडौं, १८ जेठ -आर्थिक वर्ष २०७५/७६ का लागि अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद्मा पेस गरेको बजेटमाथि बिहीबारदेखि छलफल सुरु भएको छ । संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभामा हाल बजेटमाथि सांसदहरूले आफ्ना धारणा राखिरहेका छन् ।
बजेटमाथिको छलफलमा भाग लिँदै नेपाल कम्युनिस्ट पार्टीका सांसद गजेन्द्रबहादुर महतले अर्थमन्त्रीले बजेटमार्फत सांसदको अपमान गरेको भन्दै आपत्ति जनाएका छन् ।
उनले सांसदलाई वडाध्यक्षको ठाउँमा राखेको भन्दै बजेटको बचाउ नगर्ने घोषणासमेत गरे । अर्थमन्त्रीले सांसद विकास कोषअन्तर्गतको विगतको कार्यक्रम परिमार्जन गरेर संघीय सांसद एक्लैले तजबिजी रूपमा रकम खर्च गर्न नपाउने व्यवस्था ल्याएपछि सत्ता पक्षकै सांसद सदनमा अर्थमन्त्रीविरुद्ध खनिएका हुन्, राजधानी दैनिकमा खबर छ ।