विराटनगर, २४ जेठ –बिराटनगर महानगरपालिकाको बुधवार बसेको बोर्ड बैठकमा प्रमुख प्रशासकिय अधिकृत र वडा अध्यक्षबीच हात हालाहाल भएको छ ।
कार्यकारी अधिकृत कुमार प्रसाद दाहाल र वडा नम्बर ८ का वडा अध्यक्ष बिजय कामतबीच हात हालाहालको अवस्था भएको हो ।
कामतले प्रशासकिय अधिकृत निरंकुश हुन खोजेको भनेपछि वडा नम्बर १६ का अध्यक्ष मनोज कुमार सुब्बाले कामतलाई संयमता अपनाउन भनेका थिए। सोही क्रममा थप तनाव उत्पन्न भई प्रशासकिय अधिकृत दाहाल र कामतबीच हात हालाहालको अबस्था उत्पन्न भएको थियो ।
बोर्ड बैठकमा सहभागी अर्का एक वडा अध्यक्षका अनुसार कामत र प्रशासकिय अधिकृत दाहालबीच सुरुमा सामान्य भनाभन मात्र भएको थियो। फोहोर मैला ब्यवस्थापन गर्ने कम्पनीलाई आफ्नो सिफारिस बिना रकम भुक्तानी गरेको भन्दै वडा अध्यक्ष कामत प्रशासकिय अधिकृत दाहालसँग खरो रुपमा उत्रिएका थिए । कामत महानगरका सामाजिक विकास समितिका संयोजक समेत हुन् । उनले सोही कारणले आफ्नो क्षेत्राधिकारको प्रश्न उठाएका थिए ।
सो बिषयमा प्रशासकिय अधिकृत दाहालले त्रुटी सच्याउँदै जाने भन्दै शिष्टाचारका लागि माफी मागेका थिए । प्रशासकिय अधिकृत दाहालले माफी मागिसकेपछि पनि आवेगमा आएका वडा अध्यक्ष कामतले पनि माफी माग्नुपर्ने भन्दै वडा नम्बर १५ का अध्यक्ष मनोज सुब्बा लगायतका अन्य वडा अध्यक्षले भनेपछि तनाव उत्पन्न हुन पुगेको थियो । यद्यपी त्यसलाई ठूलो विषय बनाइन नहुने ती वडाध्यक्षको भनाई छ ।
बिराटनगर महानगरमा सरुवा भएर आएपछि प्रशासकिय अधिकृत दाहाल महानगरको बैठकमा पहिलो पटक सहभागी भएका थिए । मंगलवार अपरान्ह बोलाईएको बैठकमा मेयर भिम पराजुली, उपमेयर ईन्दीरा कार्की र प्रमुख प्रशासकिय अधिकृत दाहाल ढिलोगरी महानगरमा आईपुगेका कारण वडा अध्यक्ष सहित कार्यपालिकाका सदस्यहरु आक्रोशित भएका थिए । आफूहरुलाई बोलाएर मुख्य जिम्मेवार ब्यक्ति नै निर्धारित समयमा नआएको भन्दै उनीहरुले बिरोध जनाएका थिए ।
बुधवारको बोर्ड बैठकले विरेन्द्र सभागृहको मर्मत गर्ने, मदिराको ब्यवस्थापन गर्ने र बिराटनगर १९ बैजनाथपुरका नेपालका होचा भनिएका प्रकाश कुमार सरदारलाई मासिक ३ हजार सामाजिक भत्ता दिन निर्णय भएको मेयर भीम पराजुलीक प्रेस संयोजक कौशल निरौलाले जानकारी दिए ।
बैठकले आर्थिक वर्ष २०७५–०७६ को बार्षिक वजेट ,नीति ,तथा कार्यक्रमलाई नगरसभामा पेश गर्ने, ऐन ,नियम ,कानुन ,कायविधि तथा खाका अध्ययन गरी सुझाव नगरसभामा पेश गर्ने, वडा न ५ साविक वखरीमा नेपाल पत्रकार महासंघ १ नं प्रदेश समितिका लागि १ कठ्ठा र सिरोमणी पुस्तकालयका लागि १६ धुर जग्गा उपलव्ध गराउने, विद्युतिय सडक वत्ति सामाग्री २५ लाख ३ हजारको खरिद गर्ने समेत निर्णय गरेको छ । त्यस्तै मदिरा व्यवस्थापन तथा नियमनका लागि प्रमुख प्रशासकिय अधिकृतको संयोजकत्वमा १३ सदस्य समिति समेत गठन गरिएको छ ।