०१ साउन २०८३, शुक्रबार

विश्वकप उपाधि होडका सबैजसो टीममा सोही देशका प्रशिक्षक, यसकारण राखिन्छ स्वदेशी कोच

विश्वकप उपाधि होडका सबैजसो टीममा सोही देशका प्रशिक्षक, यसकारण राखिन्छ स्वदेशी कोच
ब्राजिलका प्रशिक्षक टिटे । तस्वीर : गोल डटकम

काठमाडौं, २४ जेठ - फिफा विश्वकप फूटबल प्रतियोगिता यही जेठ ३१ गतेबाट रुसमा शुरु हुँदैछ । विश्वभरका करोडौं फूटबल समर्थक विश्वकपको प्रतिक्षामा छन् । आफूलाई मन पर्ने टोली र खेलाडीहरूको प्रदर्शनमा उनीहरूको नजर रहने छ ।

मैदानमा देखिँदा त ११ खेलाडी हुन्छन् । तर टच लाइन बाहिर रहने एक व्यक्तिको भूमिका त्यत्तिकै महत्त्वपूर्ण हुन्छ, जति खेलाडीहरूले मैदानमा खेल्छन् । मैदान बाहिर रहेर टीमको प्रदर्शनमा महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्ति हो, प्रशिक्षक ।

प्रशिक्षक (आधुनिक क्लब फूटबलमा म्यानेजर) गेमको मास्टर माइन्ड हो । कुन-कुन खेलाडीलाई खेलाउने, कस्तो रणनीतिमा मैदान उत्रिने लगायतमा कुरा प्रशिक्षकले नै तय गर्छन् ।

टोलीमा जति नै प्रतिभावान खेलाडी किन नहुन्, एउटा राम्रो प्रशिक्षकविना सफलता प्राप्त हुन निकै कठिन हुन्छ ।

विश्वकपमा सकेसम्म स्वदेशी प्रशिक्षक !

फूटबल विश्वकपमा ३२ टीम सहभागी हुँदैछन् । त्यसमध्ये १७ टोलीको प्रशिक्षक स्वदेशी नै छन् ।

विश्वकपमा प्राय: टीमले सम्भव भएसम्म स्वदेशी प्रशिक्षक नै राख्छन् । त्यो यसकारण पनि हुनसक्छ, विदेशी प्रशिक्षक रहेको कुनै पनि टीम आजसम्म विश्व च्याम्पियन बन्न सकेको इतिहास छैन ।

सोही कारण यसपटक पनि उपाधि होडमा रहेका सबैजसो टीमले स्वदेशी प्रशिक्षक नै राखेका छन् । १५ टीममा मात्र विदेशी प्रशिक्षक छन् । यसमा बेल्जियमबाहेक अधिकांश टोली उपाधि होडबाट बाहिर रहेको मानिएको छ ।

एक रिपोर्टअनुसार विदेशी कोच विश्वकपजस्तो ठूलो प्रतियोगितामा असफल हुनुको मुख्य कारण हो, कल्चर । ऊ नयाँ शैली, रणनीति र फर्मेसनका साथ टोलीमा जोडिन्छ । खेलाडीहरू छिट्टै आफ्नो शैलीमा अभ्यस्त हुन् भन्ने उसको चाहना हुन्छ ।

तर अलग-अलग देशका प्रशिक्षक र खेलाडीबीच तालमेल मिल्न समय लाग्छ । यही अन्तर टीमको प्रदर्शनमा बाधक बन्न सक्छ ।

यी हुन् विदेशी प्रशिक्षक भएका १५ देश

इजिप्टमा अर्जेन्टिना, साउदी अरेबियामा स्पेन, इरानमा पोर्चुगल, मोरक्कोमा फ्रान्स, अस्ट्रेलियामा नेदरल्याल्ड्स, डेनमार्कमा नर्वे, पेरुमा अर्जेन्टिना, क्रोएसियामा युगोस्लाभिया, नाइजेरियामा जर्मनी, सर्भियामा युगोस्लाभिया, स्वीट्जरल्याण्डमा बोस्निया एण्ड हर्जगोभिना, मेक्सिकोमा कोलम्बिया, बेल्जियममा स्पेन, पानामामा कोलम्बिया र कोलम्बियामा अर्जेन्टिनाका प्रशिक्षक छन् ।

यसबाहेक विश्वकप खेल्ने सबै देशमा सोही देशका प्रशिक्षक छन् ।

salt training

कमेन्ट गर्नुहोस्