०२ साउन २०८३, शनिबार

‘झापड प्रकरण'पछि नेकपा संसदीय दलमा हेल्मेटको चर्चा, एक सांसदको पद नै धरापमा !

जेठ २४, २०७५
‘झापड प्रकरण'पछि नेकपा संसदीय दलमा हेल्मेटको चर्चा, एक सांसदको पद नै धरापमा !

जनकपुरधाम, २४ जेठ –प्रदेश नम्बर २ स्थित नेकपा संसदीय दलको बैठकमा घटेको एक घटनाले पार्टीभित्रै तनाव निम्तिएको छ ।

गत मंगलबार प्रदेशसभा बैठक सकिएपछि नेकपा संसदीय दलको कार्यालयमा नेकपाकी समानुपातिक सांसद मञ्जु यादवले धनुषा क्षेत्र नं. १ (क) बाट निर्वाचित सांसद किशोरी साहलाई झापड हानेकी थिइन् । दलको कार्यालयमा सांसदहरूको योजना कम्प्युटरमा टाइप गर्ने क्रममा विवाद हुँदा स्थिति झापडसम्म पुगेको थियो ।

दुवै नेकपाभित्र पनि पूर्व एमालेबाटै निर्वाचित सांसद हुन् ।

घटनापश्चात संसदीय दलका नेता सत्यनारायण मण्डल यादवलाई कारवाही गर्ने तयारीमा छन् ।

'एउटा गरिमामय सांसदलाई सांसदले नै झापड हान्नु अत्यन्तै गैरजिम्मेवार कुरा हो । यस्तो काम गर्नेलाई अन्तिम हदसम्मको कारवाही हुन्छ । उनको सांसद पद पनि जान सक्छ,’ मण्डलले लोकान्तरसँग भने ।

पार्टीका सांसदहरूले बुझाएको योजना मन्त्रालय पठाउन कम्प्युटरमा टाइप गर्ने क्रममा विवाद उत्पन्न भएको थियो । सांसद यादले ‘आफ्नो योजना आफैं टाइप गर्छु’ भन्दै कम्प्युटर अपरेटरसँग विवाद गरेपछि सांसद साहले ‘बकबक गर्छेस्, बढी बोले दुई झापड हान्छु’ भनेका थिए । त्यसपछि झापड उल्टै यादवले साहलाई हानेकी थिइन् ।

त्यसबारे लोकान्तरसँग कुरा गर्दै यादवले महिलामाथि दुर्व्यवहार गर्नेलाई आफूले मर्यादाको पाठ सिकाएको बताइन् । दुर्व्यवहारको सिकार भएकोले आफूले न्याय पाउनुपर्ने उनको जीकिर छ ।

उक्त घटनाबारे छलफल गर्न र दोषीलाई कारवाही गर्न मण्डलले शुक्रबारका लागि संसदीय दलको बैठक बोलाएका छन् ।

यादवलाई कारवाही गर्ने कि नगर्ने भन्नेमा सांसदहरू नै दुई खेमामा विभाजित भएका छन् ।

स्रोतका अनुसार पार्टी एकताअघि पूर्व एमालेमा रहँदा झापड हान्ने सांसद यादव माधव नेपाल र झापड खाने साह पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली पक्षधर मानिन्थे ।

साहको सम्बन्ध संसदीय दलका नेता मण्डलसँग पनि निकै राम्रो छ । मण्डल जनकपुर आउँदा साहकै घरमा बस्ने गरेको स्रोत बताउँछ ।

यस विषयमा मण्डलले अध्यक्ष एवम् प्रधानमन्त्री ओली र पार्टी महासचिव विष्णु पौडेलसँगसमेत कुराकानी गरिसकेका छन् ।

'घटनाको पाँच मिनेटपश्चात मण्डलजीले महासचिव पौडेललाई फोन गरेर घटनाबारे जानकारी गराउनुभयो । यो मञ्जु अति नै छाडा भई । उसको छाडा प्रवृत्तिले कसैलाई पनि छाडेन । उसलाई पार्टी र सांसद दुवैबाट हटाउनुपर्‍यो । कि त पार्टीमा ऊ रहन्छ, कि हामी रहन्छौं भनेपछि महासचिवले अध्यक्षज्यूलाई फोन थमाइदिनुभयो । घटनाबारे सबै जानकारी गराएपछि उहाँले भन्नुभएको छ– ‘यो केटीलाई अहिले हातखुट्टा बाँधेर जनकपुर अञ्चल अस्पताल लगेर उसको मेन्टल उपचार गराउनुस्, पछि कारवाही गरौंला,'प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै साहले लोकान्तरसँग भने ।

सिंगापुर भ्रमणमा जानका लागि काठमाडौंमा रहेको बताएका साहले यादवलाई कारवाहीका लागि पार्टीका अन्य सबै सांसदले भोलि नै अध्यक्षलाई पत्राचार गर्न लागेको जानकारी दिए ।

घटनापश्चात नेकपाकै कतिपय सांसदले अब बैठकमा पनि हेल्मेट लगाएर आउनुपर्ने भयो भनेर कटाक्ष गर्ने गरेका छन् ।

यता सभामुख सरोजकुमार यादव भने घटनाबारे बेखबर छन् ।

‘मलाई उक्त घटनाबारे हालसम्म औपचारिकरूपमा कुनै पनि जानकारी गराइएको छैन । न त कारवाही गर्नका लागि कुनै पत्र नै आएको छ,’ सभामुख यादवले भने ।

salt training

कमेन्ट गर्नुहोस्