
काठमाडौं, २५ जेठ – ठूला दुई पार्टीबीच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना पुराना दुई वटै कार्यालयलाई नवगठित पार्टीको मुख्य कार्यालय बनाउने निर्णय गरेको धेरै दिन भएपनि कार्यालयहरू अझैं व्यवस्थापन हुन सकेका छैनन् ।
‘पार्टी एकता नहुँदा पेरिसडाँडा कार्यालय भवन बाहिरको पार्किङ क्षेत्र गाडीले भरिभराउ हुन्थ्यो । भवन परिसरमा पनि उल्लेख्य कार्यकर्ताहरू यताउता गरिरहेका देखिन्थें । तर, आजकल सुनसान हुन थालेको छ,’ भवनको सुरक्षार्थ खटिएकी एक सशस्त्र प्रहरी जवानले भनिन् । तत्कालीन माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘नेपाल कम्युनिस्ट पार्टी’ लेखिएको बोर्ड राख्नेबाहेक केही काम भएको छैन ।
तेस्रो तलाको एउटा कार्यकक्षमा भेटिएका तत्कालीन माओवादी केन्द्रका विदेश विभाग सचिव युवराज चौलागाईंले लोकान्तरसँग कुराकानी गर्दै पार्टीका दुवै अध्यक्षलाई छुट्टाछुट्टै कार्यकक्ष बनाउने प्रक्रिया चलिरहेको बताए । ९ सदस्यीय पार्टी सचिवालयको लागि पनि छुट्टै कार्यकक्ष बनाउने तयारी चलिरहेको छ । भवनको तेस्रो तल्लामै रहेको तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षभित्र पनि फर्निचरहरू अस्तव्यस्त देखिन्छन् ।
चौलागाईंका अनुसार नवगठित पार्टीका जनवर्गीय संगठन र विभागका कार्यालयहरू पेरिसडाँडामा रहने छन् । ३ महिनाभित्र विभिन्न जनवर्गीय संगठन एकता गरिसक्नुपर्ने पार्टी निर्णय अनुसार कार्यदल बनाएर काम शुरू भइसकेको छ । त्यही कार्यदलले कार्यालयको संरचना र बनावट तय गर्नेछ ।
कार्यालयमै भेटिएका नेकपाका स्थायी समिति सदस्य मणि थापा भन्छन्, ‘करीब–करीब दुई तिहाई मतसहित सत्तामा आसिन रहेको पार्टी भएकाले धेरैजसो बैठक र निर्णयहरू बालुवाटार र सिंहदरबारमा हुने गरेका छन् । अहिले दुई वटै पार्टी कार्यालयको संरचना नयाँ बनाइएको छ । संरचनाले पूर्णता पाउना साथ कार्यालयबाट हुनुपर्ने कामहरू सूचारु हुन्छन् ।’
कार्यालयमा एकाध नेता कार्यकर्ता मात्र उपस्थित हुने भएकाले पार्टीसम्बद्ध काम लिएर कार्यालय आउनेको काम हुन पाउँदैन । नेता नै कार्यालयमा नआउने भएपछि नेता भेट्न कोही पनि कार्यालय आउने कुरै भएन । बरू कार्यालयमा हुने भीड आजकल बालुवाटार र सिंहदरबारमा थुप्रिन थालेको छ ।
पेरिसडाँडा प्रवेश गर्दा गेटबाट दाहिनेपट्टि रहेको क्यान्टिन पनि सुनसान हुने गरेको छ । ‘पहिला–पहिला खाजा बनाउन फुर्सद हुँदैनथ्यो, आजकल फुर्सद पाइएको छ,’ क्यान्टिन सञ्चालिकाले भनिन्, ‘आजकल व्यापार पनि कम हुन थालेको छ, नेता कार्यकर्ताहरू विरलै आउँछन् ।’ कार्यालय सुनसान र चकमन्न भएपछि पार्टीका काम कहाँबाट भइरहेका छन् ? प्रश्न अनुत्तरित छ । पार्टी अन्तर्गतका जनवर्गीय संगठन र विभागले गर्ने काम कि त भएका छैनन्, कि सरकारी कामकाज हुने स्थान सिंहदरबार र बालुवाटारबाट भइरहेका छन् ।