
जाजरकोट, २५ जेठ – जिल्लाको बारेकोट गाउँपालिका–२ रोकायगाउँस्थित खाराखोलामा नून खानीको सम्भाव्यता देखा परेको छ ।
खोलाको पानीमा सोडियम क्लोराइड जाँच गर्दा ९० प्रतिशत नूनको मात्रा भेटिएको जाजरकोट प्रदेशसभा ‘क’ का सांसद गणेशप्रसाद सिंहले जानकारी दिए । खोलाको १ लिटर पानी लिएर ल्याब परीक्षण गराउँदा पानीमा ९० प्रतिशत नूनको मात्रा रहेको तथ्य फेला परेको सांसद सिंहले बताए । खाराखोलाको पानी लिएर वाटर इन्जिनियरिङ एण्ड टे«निङ सेन्टर काठमाडौंमा परीक्षण गरिएको थियो ।
खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेश खनालले ल्याब परीक्षण गर्दा राम्रो नतिजा आएको बताए । उनले भने, ‘केही दिनमै नून खानीको स्थलगत अध्ययनका लागि टोली पठाउने छु । म सानै हुँदा बारेकोटमा नून खानी रहेको बुढापाकाले पनि बताउने गरेका थिए ।’ बारेकोटमा नून निकाल्न सके देशलाई नूनमा आत्मनिर्भर बनाउन सकिने उनको विश्वास छ । खोलामा धेरै ठूलो पानी नभएपनि निरन्तर बगिरहने पानीबाट धेरै नून उत्पादन गर्न सकिने उनले बताए । उनले भने, ‘यो खानीलाई विस्तृत अध्ययन गरी परियोजना अघि बढाउन सरकारको ध्यान जानु आवश्यक छ ।’
सिंहका अनुसार बारेकोटमा नून खानी मात्र होइन र फलाम खानीसमेत छ । नून र फलाम खानीको सम्भाव्यता अध्ययनका लागि खानी तथा भूगर्भ विभागलाई अनुरोध गरिएको र स्थानीय सरकारले त्यसका लागि आवश्यक सहयोग गर्नका लागि वचन दिएको उनको भनाइ छ ।