
काठमाडौं, २५ जेठ – म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कस राशफोर्डले रियल मड्रिडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोभन्दा बार्सिलोनाका लियोनेल मेस्सी नै आफूलाई राम्रो लाग्ने बताएका छन् । मेस्सी महानतम खेलाडी भएको उनको भनाइ छ ।
रोनाल्डो र मेस्सी चिरकालीन प्रतिद्वन्द्वी हुन् र उनीहरूबीच को महान् भन्ने बहस दशकौंदेखि चलिरहेको छ ।
स्पेनको ला लिगाका दुई प्रतिस्पर्धी टोलीबाट खेल्ने यी उत्कृष्ट खेलाडीहरूका विषयमा विज्ञहरूको फरक मत छ र राशफोर्डले यसमा मुख खोलेका छन् ।
सीएनएनसँग कुरा गर्दै राशफोर्डले भने, ‘मेस्सीले देखाएको कला अविश्वसनीय छ । म रोनाल्डोलाई पनि मन पराउँछु तर मेस्सी महानतम हुन् ।’
रोनाल्डो र मेस्सीको प्रशंसा गरेपनि राशफोर्ड आफूले चाहिँ ब्राजिली फूटबलरहरूबाट खेल सिकेको बताएका छन् ।
सन् २००२ मा विश्वकप जित्ने ब्राजिली टोलीको आक्रमणमा प्रतिभाशाली खेलाडीहरू थिए र उनीहरूले संसारभरिका दर्शकको मन जितेका थिए ।
‘रोनाल्डो र रोनाल्डिन्हो जस्ता खेलाडीले भरिएको ब्राजिल टीमको खेल हेर्नु मेरो प्रिय अनुभवमध्येको एक हो,’ राशफोर्डले भने ।
राशफोर्ड इंग्ल्यान्ड टोलीका तर्फबाट विश्वकपमा भाग लिँदैछन् ।
गोल डट्कमबाट