
काठमाडौं, २५ जेठ – उत्तर कोरियाका नेता किम जोङ–उनसँग कुराकानी गर्न आफू पूरै तयार रहेको अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् ।
यो भेटघाट फोटो खिचाउनुमा सीमित नरहने उनले बताए ।
ट्रम्प र किम १२ जुनमा सिंगापुरको सेन्टोसा टापुस्थित एक रिजोर्टमा भेट्दैछन् । भेटघाटलाई कभर गर्नका लागि संसारभरिका लगभग २५ सय पत्रकार त्यहाँ पुग्नेछन् ।
ट्रम्पले पत्रकारहरूसँग कुराकानी गर्दै भने, ‘म भेटघाटका लागि पूरै तयार छु । मैले यसका लागि लामो समयदेखि तयारी गरिरहेको थिएँ ।’
अर्को एक प्रश्नको उत्तरमा ट्रम्पले भने, ‘यो भेटघाट फोटो खिच्नमा सीमित रहने छैन । यो एक प्रक्रिया हो । एउटै बैठकमा डील हुन पनि सक्छ । गजबको वार्ता हुनेछ ।’
‘यो भेटघाटका लागि हामी लामो समयदेखि काम गरिरहेका छौं । उत्तर कोरियाले अनेकौं शत्रु तयार पारेको छ । धेरै देशले यसलाई मन पराउँदैनन् । राम्रो सम्बन्धको शुरूआत होस् भन्ने मेरो कोशिश हुनेछ ।’
ट्रम्पले भने, ‘उत्तर कोरियाले आणविक कार्यक्रम बन्द गरिसकेको छ । यसो नगरेका भए उनीहरू स्वीकार्य हुँदैनथिए । हामीहरू अहिल्यै उनीहरूमाथिको प्रतिबन्ध हटाउन सक्दैनौं । उनीहरूमाथि कडा प्रतिबन्ध लगाइएको छ ।’
ट्रम्प र किमको भेटघाट सफल पार्न अमेरिकी र उत्तर कोरियाली अधिकारीहरूका टोली तयारीमा लागेका छन् । दुवै देशका अधिकारीहरूले कैयौंपटक भेटघाट गरिसकेका छन् ।
बिहीवार सीएनएनको रिपोर्टमा ट्रम्प र किमको भेटघाट दुई दिनसम्म हुन सक्ने बताइएको थियो ।
एजेन्सी