
काठमाडौं, २५ जेठ – डेढ वर्षदेखि विवादित सेवा शुल्क वितरण सम्बन्धमा होटल रेस्टुराँ सञ्चालक र मजदूरबीच आज १९ बुँदे सम्झौता भएको छ ।
होटल सञ्चालक र कार्यरत मजदूरबीच सेवा शुल्क वितरण सम्बन्धमा भएको उक्त विवाद दुवै पक्षबीच सम्झौतापछि टुङ्गिएको हो । नयाँ सम्झौता अनुसार कूल सेवा शुल्कको ७२ प्रतिशत हिस्सा मजदूरलाई उपलब्ध गराइने छ । सन् २००६ डिसेम्बरदेखि होटल तथा रेस्टुराँमा मजदूरलाई उपलब्ध गराउने गरी सेवा शुल्क लगाएको थियो ।
उक्त व्यवस्था अनुसार मजदूरले कूल सेवा शुल्कको ७० प्रतिशत र २६ प्रतिशत होटल सञ्चालकले लिँदै आएका थिए । तर, सेवा शुल्कबापत मजदूरले आउने हिस्सा बढाउन माग गरेको र सञ्चालकले उठेको रकम पनि मजदूरलाई दिन आनाकानी गरेपछि सो विषयमा विवाद बढेको थियो ।
नयाँ सम्झौताअनुसार २३ प्रतिशत रकम सम्बन्धित होटल प्रतिष्ठानले मर्मत तथा सीप विकासका लागि राख्न पाउने छन् । यसैगरी, २ प्रतिशत रकम होटल संघ र रेबानले पाउने छन् भने उक्त सम्झौतामा हस्ताक्षर गरेका ३ वटा होटल रेस्टुराँ सम्बन्धी मजदूर युनियनले १÷१ प्रतिशत रकम पाउने छन् ।
यसअघि, सबै ग्रेडिङलाई वार्षिक रुपमा तलबमा जोडेर तलब वृद्धि गर्दै आएकोमा अबका दिन कूल तलबको ५ प्रतिशत रकम मात्र वार्षिक रुपमा वृद्धि हुनेछ ।