०५ असार २०८३, शुक्रबार

अस्थायी राजधानी धनगढीमा सरकारी ‘मल्टी कम्प्लेक्स’ भवन बन्ने

जेठ २५, २०७५
अस्थायी राजधानी धनगढीमा सरकारी ‘मल्टी कम्प्लेक्स’ भवन बन्ने

धनगढी, २५ जेठ - प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा सरकारी लगानीमै ‘मल्टी कम्प्लेक्स’ बिल्डिङ निर्माण हुने भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आफ्नो सेती अञ्चल कार्यालय रहेको पुरानो भवनसहितको संरचना भत्काएर मल्टी कम्प्लेक्स बनाउने भएको हो । साल्ट ट्रेडिङ सेती अञ्चल प्रमुख केशव पाण्डेले धनगढी बजारको मूल सडकमा रहेको १८ सटर सहितको कार्यालय भवनलगायत अन्य संरचना हटाउन केन्द्रीय कार्यालयबाट परिपत्र जारी भइसकेको लोकान्त्तरलाई जानकारी दिए ।

‘हाल भाडामा रहेका सटर खाली गराउनलाई केन्द्रीय कार्यालयले ३ महिने निर्देशनात्मक सूचना जारी गरेको छ,’ उनले भने, ‘केही महिना अगाडि सटर टेन्डरको लागि बोलपत्र आह्वान गरिएपनि उक्त बोलपत्रलाई खारेज गरी हाल मल्टी कम्प्लेक्स निर्माणको उद्देश्यले पूरानो संरचना हटाइने सूचना जारी भएको छ ।’

हाल साल्ट ट्रेडिङको स्वामित्वमा धनगढीमा १ विगाह १६ कट्ठा जमिन रहेको छ । उक्त जमिनमा मल्टी कम्प्लेक्स निर्माणको लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणको कार्य समेत अगाडि बढेको अञ्चल प्रमुख पाण्डेले जानकारी दिए । 

मल्टी कम्प्लेक्स भवनभित्र कार्यालय सञ्चालनका लागि चाहिने भुकम्प प्रतिरोधी भवन, सिनेमा हल, रेस्टुरेन्ट, सपिङ कम्प्लेक्स तथा डिपार्टमेन्टल स्टोरलगायत सञ्चालन गर्न सकिने छ । मल्टी कम्प्लेक्सको आयोजनाले प्रदेश राजधानी धनगढीको विकासमा थप सघाउ पुग्ने विश्वास समेत लिइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्