११ असार २०८३, बिहीबार

जन्मस्थल पुगेर सिस्नेधाराको पानी खाएर फर्किए डा देवकोटा

जन्मस्थल पुगेर सिस्नेधाराको पानी खाएर फर्किए डा देवकोटा

काठमाडौँ, २६ जेठ – वरिष्ठ न्यूरोसर्जन प्रा डा उपेन्द्र देवकोटालाई आज उनको जन्मस्थल गोरखा आँपपिपलस्थित बाहुनडाँडा लगेर पुनः काठमाडौँ ल्याइएको छ । 

पित्तनलीको क्यान्सरका कारण गम्भीर अवस्थामा रहेका डा देवकोटाको इच्छाबमोजिम दिउँसो गोरखा जन्मघर पु¥याई सिस्नेधाराको पानी खुवाएर एक घण्टा राखेपछि पुनः काठमाडौँ ल्याई बाँसबारीस्थित न्यूरो अस्पतालको सघन कक्षमा राखिएको छ । 

डा देवकोटालाई हेलिकोप्टरमा सबै मेडिकल उपकरणको व्यवस्था गरेर गोरखा लगिएको थियो । उनीसँगै गोरखा गएका मेडिसिटी अस्पतालका इमर्जेन्सी विशेषज्ञ डा सञ्जय कार्कीका अनुसार घर नजिकै हेलिकोप्टर अवतरण गरी विशेष खालको म्याट्रेसमा राखेर ३५ मिनेट बोकेर बाहुनडाँडास्थित घर पु¥याइएको थियो । 

उनले भने, “डा देवकोटालाई घरतर्फ लैजाँदै गर्दा आफूले पढेको लुर्इँटेल स्कुल पनि हातको इशाराले देखाउनुभएको थियो, त्यहाँ पुगेपछि उहाँमा छुट्टै खालको खुशी, उत्साह देखिन्थ्यो, चार÷पाँचसयको संख्यामा मानिस उहाँलाई हेर्न जम्मा भएका थिए ।” 

डा देवकोटाले आफूलाई भेट्न आएका बृद्धबृद्धालाई हात दिएर तथा बच्चाको टाउकामा हात राखेर खुसी व्यक्त गरेका थिए । जन्मस्थान पुगेपछि डा देवकोटाले आफ्नो वरिपरि रहेकालाई हेरेर ‘आइ फिल भेरी ह्याप्पी’ र ‘आइ फिल एमेज्ड’ (म अत्यन्त खुशी छु) भन्दै खुसी व्यक्त गरेकाे डा कार्कीले बताए । 

 डा कार्कीले भने, “गोरखा जाने इच्छा व्यक्त गर्नुभएको थियो, अस्ति नै गोरखा लाने तयारी गरिएको थियो, तर स्वास्थ्य समस्या देखिएपछि सम्भव भएन, आज राम्रो अवस्था भयो, त्यसैले काठमाडौँबाटै सम्पूर्ण तयारी गरी मेडिकल टिमसहित उहाँको इच्छा अनुसार जन्मघर लगेर ल्यायौँ ।” 

डा देवकोटालाई लिएर जाँदा दुई हेलिकोप्टर गोरखा गएका थिए । उनीसँग न्यूरो अस्पतालमा उनको उपचारमा खटिएका एनेस्थेसियाका चिकित्सक डा मायुस मुनाकर्मी, मेडिसिटी अस्पतालमा कार्यरत एभिएसन तालीम प्राप्त इमरजेन्सी विशेषज्ञ डा कार्की, मेडिसिटीकै प्यारामेडिक्स रमेश न्यौपाने, डा देवकोटाकी श्रीमती मधु दीक्षित, उनका छोरी र एक आफन्त गोरखा गएका थिए । 

जन्मस्थानमा पुगेर फर्केपछि डा देवकोटामा आत्मबल बढेको महसुस आफूले गरेको बताउँदै डा कार्कीले उनको स्थिति गम्भीर भएपनि आत्मबल भने उच्च रहेको बताए । 

जन्मघरमा करीब एक घण्टा बसेपछि डा देवकोटालाई पुनः काठमाडौंस्थित न्यूरो अस्पतालको आइसियुमा राखेर उपचारमा निरन्तरता दिइएको छ । उनको स्वास्थ्यस्थितिलाई लिएर शुक्रबार र शनिबार बिहानसम्म विभिन्न अफवाह फैलिएपछि अस्पतालले विज्ञप्ति निकालेर डा देवकोटाको स्वास्थ्य अवस्था गम्भीर रहेको पुष्टि गर्दै हल्लाको पछाडि नलाग्न अनुरोध गरेको थियो ।रासस

salt training

कमेन्ट गर्नुहोस्