
गोरखा, २७ जेठ– पित्त नलीसम्बन्धी क्यान्सरबाट पीडित ६४ वर्षीय डा। उपेन्द्र देवकोटालाई उनकै इच्छाअनुसार शनिबार जन्मघर गोर्खा ल्याएर फर्काइएको छ ।
पिँढीमा सुस्ताउने, सिस्ने धारोको पानी खाने र नदीमा खुट्टा डुबाउने इच्छा गरेकाले आवश्यक चिकित्सा उपकरणसहित विशेष निगरानीमा उनलाई पालुङटार नगरपालिका–४ बोहोरागाउँस्थित जन्मघर ल्याइएको हो । जन्मगाउँमा झन्डै डेढ घण्टा बिताएका देवकोटा पुख्र्यौली घरमा ५५ मिनेट सुस्ताए । भेट्न आएका शुभचिन्तकसँग भने कुराकानी गर्न सकेनन् ।
हेलिकप्टरमा गाउँ आएका देवकोटालाई घरसम्म स्ट्रेचरमा राखेर लगिएको थियो । पाँच चिकित्सक पनि उनीसँगै थिए । उनलाई बिहीबारै जन्मथलो गोरखा ल्याउने तयारी थियो । तर अवस्था गम्भीर भएकाले शनिबार मात्र ल्याइएको हो । ‘उहाँ सिकिस्त भएकाले १५ दिनअघि सिस्ने धाराको पानी बोतलमा लिएर म आफैं काठमाडौं पुगेर खुवाएको थिएँ,’ स्थानीय प्रदीपचन्द्र देवकोटाले भने, ‘उहाँको धोको पुगेन, म आफैं आउँछु भन्नुभएको थियो, आउनुभयो ।’
उपेन्द्रको बोहोरागाउँमा रहेको घर रेखदेखको जिम्मा पाएका प्रदीपचन्द्रले उपेन्द्रलाई खुवाउन शनिबार बिहानै सिस्ने धाराको पानी ल्याएर राखेका थिए, आजको कान्तिपुर दैनिकमा विस्तृत खबर छापिएको छ ।