
काठमाडौँ, २७ जेठ – सङ्घीय समाजवादी फोरम नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग एकीकरण नहुने स्पष्ट पारे पनि त्यसको चर्चा र आशङ्का कम भएको छैन । फोरम नेपाल सरकारमा सहभागी भएसँगै दुई दलबीच एकीकरणको चर्चा सुरु भएको हो । यद्यपि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई दिनअघि एक विज्ञप्ति जारी गरी फोरम नेपाल र नेकपाबीच एकीकरणको तत्काल सम्भवना नरहेको स्पष्ट पार्नुभयो ।
उहाँले नै त्यस विज्ञप्तिमा भन्नुभएको छ, ‘फोरम नेपालको गत वैशाख २१ गते सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दलसँग एकीकरण गर्न सकिने निर्णय गरेको छ ।’
यो निर्णयले पनि नेकपासँग एकीकरण हुने कुरालाई नकार्न नसकिने जानकारहरू बताउँछन् । फोरम नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री यादवले विज्ञप्ति जारी गरेकै दिन नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पत्रकारसँग भेटघाट कार्यक्रमको आयोजना गर्नुभएको थियो । भेटघाटमा उहाँले भन्नुभएको थियो,‘फोरम नेपाल र नयाँ शक्तिसँग ढिलो चाँडो एकीकरण हुन्छ, यसमा कुनै दुईमत छैन । यसका लागि उच्चस्तरमा छलफल भइरहेको छ ।’ उहाँले त फोरम नेपालसँग पार्टीको दस्तावेज पनि साटासाट भएको दावी गर्नुभयो, गाेरखापत्र दैनिकमा खबर छ ।