
विराटनगर, २७ जेठ -नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले संघीय समाजवादी फोरम नेपालसँग पनि पार्टी एकीकरणका विषयमा कुराकानी भएको बताएका छन् ।
विराटनगर विमानस्थलमा आइतबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले एकीकरणका विषयमा छलफल भए पनि त्यो तत्काल सम्भव नभएको प्रस्ट पारे ।
सरकारमा ल्याउँदैमा पार्टी एकीकरणा भइहाल्छ भन्ने नभएको उनको भनाइ छ ।
राजपालाई पनि सरकारमा ल्याउने विषयमा कुराकानी भएको प्रचण्डले जानकारी दिए । ‘उहाँहरूसँग पनि छलफल भएको छ,' उनले भने, 'सरकारमा आउने विषयमा सकारात्मक देखिनुभएको छ ।’
अर्को एक प्रसंगमा अध्यक्ष प्रचण्डले गुणस्तरहीन काम गर्ने जो कोहीलाई पनि कारवाही हुने बताए ।
साथै संघीयता असफल हुन्छ भन्ने भनाइको पनि उनले खण्डन गरे ।
'केही पुराना नेतृत्व वा कर्मचारी मानसिकता भएकाहरू त्यस्तो तर्क गर्छन् भने त्यो बुझाइ ठीक होइन, गलत हो,' प्रचण्डले भने ।