३२ असार २०८३, बिहीबार

ट्रम्प र किमलाई गोरखाली सुरक्षा : कांग्रेस नेता भण्डारी भन्छन् - 'अब अरुले सुरक्षा दिने बनौं'

ट्रम्प र किमलाई गोरखाली सुरक्षा : कांग्रेस नेता भण्डारी भन्छन् - 'अब अरुले सुरक्षा दिने बनौं'

काठमाडौं, २८ जेठ -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच मंगलबार सिंगापुरमा हुने शिखर वार्तामा गोरखाली सैनिकले सुरक्षा दिने विषयमा चर्चा भइरहेका बेला कांग्रेसका चर्चित युवा नेता चन्द्र भण्डारीले नेपालीहरू पनि अरुले सुरक्षा दिनलायक बन्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

'यस माटोमा वैज्ञानिकदेखि भगवान बुद्ध बन्ने सामर्थ्य छ, कमी छ त केवल सपनाको,' सामाजिक सञ्जाल फेसबुकमा सोमबार भण्डारीले लेखेका छन्- 'जसले सुरक्षाकर्मीबाहेक अरु केही बन्ने सपना न‌ै देख्दैन र देखाउँदैन पनि । हाम्रो पूर्वीय दर्शन आफैंमा वैभवशाली छ जसले मानिस, समाज एवं विश्वलाई नै मार्गनिर्दिष्ट गर्दछ, तर विडम्बना हामीसँग आफ्नै ज्ञानको कमी छ ।'

भण्डारीले अघि लेखेका छन्, 'हामीसँग न धर्म छ, न संस्कृति । न भाषा छ, न भेषभुषा । सोच बदलौं । अरुले गोरखालीको सुरक्षा गर्न सक्ने भावी पिंडी बनौं र बनाउँ ।'

यस्तो छ भण्डारीको स्टाटस :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको महत्त्वपूर्ण भेटवार्ता सिंगापुरको क्यापिला होटलमा हुँदैछ । विश्वका महत्त्वपूर्ण नेताहरू बीचमा हुन गइरहेको यस भेटघाटलाई विश्वले विशेष रूपमा हेरिरहेको छ । नेपालीको लागि गौरवको कुरा ती दुवै नेताको सुरक्षा गोर्खाली सैनिकले गरिरहेका छन् । नेपाली जहाँ छन् सक्षम र ईमान्दार छन् । नेपालको नाम राखेका छन् । नेपालमा भने विगतमा भारतीय प्रधानमन्त्री नेपालमा आउँदा उनको सुरक्षाका लागि भारतीय सेनाले नेपाली भूमिमा परेड खेले । नेपाली सेनाको मानमर्दन गरियो । हाम्रो मौनधारण ! आफूलाई नचिनेका, आफ्नो पहिचान थाहा नभएका, इतिहास नपढेका, प्राचीन सम्पदाको महत्त्व नबुझेकाहरूले अरुको पहिचान र महत्त्वको रक्षा कसरी गर्दछ ? अब परिवर्तन गर्नुपर्दछ सोचमा । हाम्रो गोरखाली रगत एवं पसिना केवल अरुको सुरक्षार्थ मात्र नबगेर अब विश्व मानचित्रमा नेपाल र नेपाली भनेको युद्ध पनि हाँक्न सक्ने र शान्तिको बिगुल फुकी शान्ति स्थापना गरी विश्वलाई चकित पार्नसक्ने छन् भन्ने पुष्टि भइसकेको छ । यस माटोमा वैज्ञानिकदेखि भगवान बुद्ध बन्ने सामर्थ्य छ केवल कमी छ भने त्यो हो असल नेताको जसले वैज्ञानिक वा बुद्ध बन्नेलाई केवल आफ्नो साँघुरो सोचले गर्दा सुरक्षाकर्मीभन्दा अरु केही बन्ने सपना न‌ै देख्दैन र देखाउँदैन पनि । हाम्रो पूर्वीय दर्शन आफैंमा वैभवशाली छ जसले मानिस, समाज एवं विश्वलाई नै मार्गनिर्दिष्ट गर्दछ, तर विडम्बना हामीसँग आफ्नै ज्ञानको कमी छ । त्यसैले हामीसँग न धर्म छ, न संस्कृति, न भाषा, न भेषभुषा । सोच बदलौं । अरुले गोरखालीको सुरक्षा गर्न सक्ने भावी पिंडी बनौं र बनाउँ ।

 

salt training

कमेन्ट गर्नुहोस्