१९ असार २०८३, शुक्रबार

कैलालीमा विद्यार्थी नहुँदा विद्यालय बन्द : दोषी खुट्याउन आरोप–प्रत्यारोप

जेठ २९, २०७५
कैलालीमा विद्यार्थी नहुँदा विद्यालय बन्द : दोषी खुट्याउन आरोप–प्रत्यारोप

कैलाली (लौसा), २९ जेठ – अध्ययनरत अधिकांश विद्यार्थी निजी विद्यालयमा भर्ना भएपछि कैलालीको एक सामुदायिक विद्यालय बन्द भएको छ । जिल्लाको कैलारी गाउँपालिका–८ लौसास्थित जनता प्राथमिक विद्यालयमा विद्यार्थी नै भर्ना नभएपछि बन्द भएको हो ।

शैक्षिक सत्र ०६९ र ०७० मा सो विद्यालयमा कक्षा ८ सम्मको पठनपाठन हुँदै आएको थियो । तर, पछिल्लो समय विद्यार्थी संख्या घट्दै आएको थियो । चालू शैक्षिक सत्रमा कक्षा १ देखि ५ सम्मको कुनै पनि तहमा विद्यार्थी भर्ना नभएपछि बन्द गराउनु परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगतराम कठरियाले बताए ।

विद्यालय सञ्चालन गर्न धेरै प्रयास गरेको जिकिर गर्दै उनले भने, ‘गत वर्ष स्थानीय अभिभावकलाई भेला गरेर अन्यत्र भर्ना भएका विद्यार्थीलाई फर्काएर विद्यालय सञ्चालन ग¥यांै । तर, यो पालि गर्न सकेनौ ।’ थोरै विद्यार्थी हुँदा पनि विद्यालयका शिक्षकले गुणस्तरीय शिक्षा दिन नसक्दा विद्यार्थी अन्यत्र भर्ना भएको अध्यक्ष कठरियाको दाबी छ ।

‘शिक्षकलाई कम विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न अनुरोध गर्यौं । तर, शिक्षकले दिन सक्नुभएन । अनि यो अवस्था आएको हो,’ उनले भने । २०५० सालमा स्थापना भएको विद्यालयमा केही वर्ष अघिसम्म २ सय जनासम्म विद्यार्थी अध्ययनरत थिए । तर, हाल सो विद्यालयमा बाल विकास केन्द्र मात्रै सञ्चालनमा रहेको छ । बाल विकास केन्द्रमा पनि जम्मा १३ जना मात्रै विद्यार्थी रहेका बाल विकास केन्द्रकी शिक्षिका प्रेमकुमारी कठरियाले बताइन् ।
विद्यार्थी नै भर्ना नभएपछि विद्यालयका शिक्षक अन्य विद्यालयमा काज सरुवाको प्रक्रियामा लागेका छन् । ३ जना राहत दरबन्दी, २ जना बाल विकास केन्द्र शिक्षक र १ जना कार्यालय सहयोगी गरी सो विद्यालयमा ६ जना शिक्षक कार्यरत छन् ।

विद्यार्थी भर्ना नभएपछि विद्यालय व्यवस्थापन समितिले बाल विकास केन्द्र बाहेकका शिक्षकलाई काज सरुवाको लागि कैलारी गाउँपालिकालाई सिफारिस गरेको छ । तर, अझै काज सरुवाबारे टुंगो नलागेको विद्यालयका प्रधानाध्यापक गोरखबहादुर नेपालीले बताए । तर, विद्यालयको पठनपाठन गुणस्तरीय नभएको आरोप भने निराधार रहेको विद्यालयका प्रधानाध्यापक नेपालीको भनाई छ । 

‘हामी कक्षाभार अनुसार नै शिक्षण तथा पठनपाठन गराउने हो । गराउँदै आएका छौ र गराइरहने छौ । विद्यालय बन्द भएको दोष जति हाम्रो टाउकोमा थुपार्नु कहाँसम्मको नैतिकता हो ?’ उनी भन्छन्, ‘शिक्षा ऐन अनुसार १ शिक्षक बराबर ५० जना विद्यार्थी हुनुपर्छ । तर, शिक्षक भार अनुसार विद्यार्थी नभएपछि विद्यालय यस अवस्थामा पुगेको हो ।’ 

त्यस्तै, प्रअ नेपालीले विद्यालय बन्द हुनुको प्रमुख कारण आन्तरिक विवाद रहेको खुलासा समेत गरे । समिति र राहात दरबन्दीमा कार्यरत शिक्षकबीचको विवादले विद्यालय बन्दको अवस्थामा पुगेको उनको भनाई छ । उनका अनुसार विद्यालय व्यवस्थापन समितिले अन्य शिक्षकलाई तलब खुवाउन र विद्यालय सञ्चालनको लागि राहात शिक्षकको तलब विद्यालयको खातामा आउनुपर्ने दवाब सिर्जना गरेको थियो । तर, राहात शिक्षकले आफूहरूको तलब दिन नमिल्ने अडान लिएपछि टकरावको अवस्था सिर्जना भएको प्रअ नेपालीको भनाई छ । विद्यालयको सो विवादबारे अभिभावक हुँदै  विद्यार्थीसम्म पुगेपछि विद्यार्थीको संख्या घटेको बताइएको छ ।

लौसाका स्थानीय समाजसेवी डम्मन कठरियाले सो विद्यालय स्थापनाको लागि ४ कठ्ठा जग्गा दान गरेका थिए । हाल सो जग्गामा २/२ कोठे ३ वटा पक्की भवन, १ वटा कच्ची भवन, २ वटा पक्की शौचालय, ३ वटा बच्चा खेल्ने झुला र २ वटा धारा लगायत संरचना निर्माण गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्