
सुर्खेत, १ असार– नेपाली कांग्रेसले सुर्खेतस्थित पार्टी कार्यालयभित्रै पसेर आफ्ना कार्यकर्तामाथि प्रहरीले गरेको धरपकडको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै शान्तिपूर्ण प्रदर्शनमा सरकारले जंगली शैलीमा दमन गरेको आरोप लगाएका छन् । उनले लेखेका छन्,‘सडक लोकतन्त्रको अभिन्न अंग हो, त्यहाँको प्रदर्शनपछि पार्टी कार्यालय भित्रै पसेर दमन गर्ने प्रयत्न जंगली शैली हो ।’
प्रवक्ता शर्माले सरकारलाई गम्भीर बन्न भनेका छन् । ‘यस्ता घटनाको प्रतिवादमा सिंहदरबार भित्रै पसेर प्रमकै कार्यालयअघि प्रदर्शन गर्नुपर्ने स्थिति बन्न सक्छ । सरकार गम्भीर बनोस् ।’, उनले भने ।
पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिसँगै खाद्यबस्तु र सेवा क्षेत्रमा महंगी बढेको भन्दै मूल्य वृद्धि फिर्ताको माग गर्दै कांग्रेसको भातृ संगठन विरोधमा उत्रिएको थियो ।
नेविसंघले देशैभर विरोध प्रदर्शन गरिरहेका बेला हिजो सुर्खेतमा पनि प्रदर्शन गरेको थियो । प्रहरीले सुर्खेतको काँग्रेस पार्टी कार्यालयभित्र प्रवेश गरी हस्तक्षेप गरेको कांग्रेसले जनाएको छ ।