
विराटनगर, १ असार–१ नम्बर प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ को लागि ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बोले बजेट तथा कार्यक्रम बारेमा जानकारी दिँदै भौतिक पूर्वाधारमा ९ अर्ब ५० करोड रुपैयाँको बजेट विनियोजन गरिएको जानकारी दिए । सबैभन्दा कम बजेट युवा तथा खेलकुदमा ४३ करोड रुपैयाँ विनियोजना गरिएको छ । जलस्रोत तथा उर्जामा ७१ करोड विनियोजन गरिएको छ भने पर्यटनमा ८९ करोड विनियोजना गरिएको छ । कृषिलाई बजेटले उपेक्षा गरेको छ ।
कृषि करिडोरको स्थापना गर्दै कृषिकै माध्यमबाट गरीबी न्यूनिकरण गर्ने योजना अघि सारेको प्रदेश सरकारले कृषिको लागि भने जम्मा ८५ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । उद्योग क्षेत्रको लागि १ अर्ब ३० करोड रुपैयाँ रकम विनियोजन गरिएको छ । औद्योगिक ग्राम, अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्र लगायतको विषय औद्योगिक क्षेत्रको लागि समेटिएको छ ।
शिक्षा क्षेत्रको लागि १ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरिएको छ । साक्षर प्रदेश, मनमोहन पोलिटेक्निकलाई प्राविधिक विश्वविद्यालय, जनता चिकित्सा शिक्षा कोष, आवासीय विद्यालय निर्माण, महेन्द्र मोरङमा ई–लाइब्रेरी सञ्चालन लगायतका विषय बजेटमा समेटिएका छन् ।
स्वास्थ्य क्षेत्रको लागि प्रदेश सरकारले १ अर्ब ४४ करोड बजेट छुट्याएको छ । यसको लागि प्रदेश स्तरको ५ सय शैयाको प्रदेश अस्पताल, कोशी अञ्चल अस्पताललाई शिक्षण अस्पताल, मंगलबारे अस्पतालाई ट्रमा सेन्टर अस्पतालको रुपमा शुरू गरिने उल्लेख गरिएको छ । सरकारले सुर्ति तथा मदिरालाई पूर्ण रुपमा नियमन गर्ने जनाएको छ ।
९ अर्ब ५० करोड बजेट भौतिक पूर्वाधारमा छुट्याएको प्रदेश सरकारले नमूना बस्ती, ५ वर्षमा सुकुम्वासी समस्या समाधानको लागि घर निर्माण, वस्ती विकासलाई व्यवस्थापन, मन्त्रालय तथा भवन निर्माण, नयाँ शहर निर्माणको लागि सम्भाव्यताको खोजी गर्दै काम शुरू गरिने, कम्तिमा २ वटा स्मार्ट सिटीको लागि सम्भाव्यता अध्ययन गरिने उल्लेख छ ।
पूर्वपश्चिम राजमार्गको कोशी व्यारेजदेखि राजमार्गको काँकडभिट्टा सडकलाई ६ लेनमा विस्तार कार्य प्रारम्भ, विराटनगर–रानी–किमाथाङका सडकलाइ प्रदेशको गौरवको आयोजनाको रुपमा सञ्चालन गर्ने, आगामी आर्थिक वर्षमा विराटनगर–रानी–धरान मेट्रो तथा मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययन शुरू गरिने बजेटमा समेटिएको छ ।