
काठमाडौं, २ असार– सातवटै प्रदेश सरकारले नयाँ आर्थिक वर्षका लागि बजेट आज प्रदेश संसदमा पेस गरेका छन् । संवैधानिक व्यवस्था अनुसार ७ ओटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५÷७६ को बजेट संसदमा प्रस्तुत गरेका हुन् ।
प्रदेश नं १
प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आव २०७५/७६ का लागि रु ३५ अर्ब ९३ करोड ६० लाखको बजेट प्रस्तुत गरेका छन् ।
बजेटमा आगामी आर्थिक बर्षमा विराटनगर–रानी–धरान मेट्रो तथा मोनोरेल संचालनको सतभाव्यता अध्ययन शुरु गरिने बजेटमा समेटिएको छ ।
प्रदेश नं. २
प्रदेश २ को सरकारले आगामी आव २०७५०७६ का लागि रु २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजारको बजेट प्रस्तुत गरेको छ । प्रदेश अर्थमन्त्री विजय यादवले शुक्रबार प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै प्रदेश सरकारले ‘हर खेतमे पानी हर हाथमे काम’ योजनाका लागि ५२ करोड विनियोजन गरेको जानकारी गराए ।
प्रदेश नं. ३
प्रदेश नं. ३ को प्रदेशसभा बैठकमा प्रदेश सरकारले आगामी आर्थिक ०७५/०७६ को लागि रु ३५ अर्ब ६१ करोड ५६ लाखको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेश नं. ३ का १३ जिल्लालाई राष्ट्रिय गौरवको आयोजनाको निर्माण क्रममा सर्वे गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटकीयस्थल, उद्योगको विस्तार एवं प्रादेशिक लोकसेवा आयोगको स्थापना गर्ने विषयमा बजेटले जोड दिएको बताए ।
प्रदेश नं. ४
प्रदेश नं ४ को आगामी आव २०७५/७६ का लागि रु २४ अर्ब २ करोड ३३ लाखको बजेट विनियोजन गरिएको छ । प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बजेट प्रस्तुत गर्दै सरकारले सार्वजनिक निजी साझेदारीका माध्यमबाट प्रदेशको आर्थिक समृद्धि हासिल गर्ने लक्ष लिएको बताए ।
प्रदेश नं. ५
प्रदेश ५ को सरकारले आव २०७५/७६ का लागि रु २८ अर्ब नौ करोड तीन लाखको बजेट प्रस्तुत गरेको छ ।
प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री शंकर पोखरेलले बजेट सार्वजनिक गर्दै सरकारले कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य र भौतिक निर्माणलाई मुख्य प्राथमिकतामा राखेको बताउदै बजेटले सबै विषयलाई एकै पटक समेट्न नसकेको स्वीकार गरे ।
कर्णाली प्रदेश
कर्णाली प्रदेश सरकारले आगामी आवका लागि रु २८ अर्ब २८ करोड २८ लाख २८ हजारको बजेट सार्वजनिक गरेको छ ।
संसद्मा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशले आफ्नो गाउँ आफै बनाऔं जस्ता कार्यक्रमलाई निरन्तरता दिएको जानकारी दिए ।
प्रदेश नं. ७
प्रदेश नं. ७ को प्रदेशसभाको बैठकमा प्रदेश सरकारले आव २०७५/०७६ का लागि रु २५ अर्ब छ करोड ५६ लाख १४ हजारको बजेट प्रस्तुत गरेको छ ।
प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बजेट प्रस्तुत गर्दै कुल विनियोजितमध्ये चालुतर्फ रु १३ अर्ब ३५ करोड आठ लाख एक हजार अर्थात ५३ दशमलब २६ प्रतिशत र पुँजीगततर्फ रु ११ अर्ब ७१ करोड ४८ लाख १३ हजार अर्थात ४६ दशमलब ७४ प्रतिशत विनियोजन गरेको जानकारी दिए ।
सरकारमा सहभागितालाई लिएर राजपामा तीन धार
सरकारमा सहभागिताबारे राष्ट्रिय जनता पार्टीमा विवाद देखिएको छ । सरकारलाई हेर्ने दृष्टिकोणमै राजपा नेताहरूमा तीन धार देखिएको हो । एउटा पक्ष सरकारमा जाने र अर्को पक्ष जान नहुने पक्षमा छन् । तेस्रो पक्ष भने तटस्थ छ । तर, सरकारमा जानुपर्ने धार नै बलियो देखिन्छ ।
राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेका छन् । सरकारमा जान तयार भए पनि वातावरण बनिनसकेको राजपाका नेताहरूले बताउने गरेका छन् । अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले सरकारमा सहभागिताबारे छलफल भए पनि कुनै प्रगति नभएको बताए ।
राजेन्द्र महतो, शरत्सिंह भण्डारीलगायत सरकारमा जानुपर्ने पक्षमा छन् । अनिल झा र महेन्द्र राय यादव सरकारमा जानै नहुने अडानमा छन् । राजकिशोर यादव भने तटस्थ छन् । केही समयअघि महन्थ ठाकुर पनि तटस्थ नै थिए । तर, अहिले प्रधानमन्त्रीसँग छलफलमा छन् । नयाँ पत्रिकामा खबर छ ।
नेकपाको पहिलो स्थायी कमिटी बैठक आज
एकतापछि नेपाल कम्युनिष्ट पार्टीको पहिलो स्थायी कमिटीको बैठक शनिबार बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय राजनीतिक परिस्थितिका सम्बन्धमा अध्यक्षको सम्बोधन हुनाका साथै पार्टी एकतायताको राजनीतिक तथा सांगठनिक अवस्थाबारे महासचिवको प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका तथा आचारसंहिता मस्यौदा कार्यदल गठन, प्रधानमन्त्रीको चीन भ्रमणको तयारीलगायत कार्यसूची रहेको सो पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई नेकपा गठन भएको थियो ।
सहायक वन अधिकृत तीन लाख घुससहित पक्राउ
कपिलवस्तुको इलाका वन कार्यालय जवाबैराठका सहायक वन अधिकृत ब्रह्मदेव महतोलाई रु तीन लाख रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । महतोलाई अख्तियारले चन्द्रौटास्थित निजको डेराबाट शुक्रबार तीन लाख रकमसहित पक्राउ गरेको हो ।
सेवाग्राहीबाट घुस रकम लिएको सूचनाका आधारमा महतोको डेरामा अख्तियारले छापा मार्दा रकमसहित महतोलाई फेला पारेको अख्तियार बुटवलले जनाएको छ ।
युवा संगठनको नाम फेरियो
नयाँ शक्ति पार्टी नेपालको भातृ संगठन ‘राष्ट्रिय युवा अभियान’को नाम परिवर्तन भएको छ । पार्टीको तेस्रो स्थापना दिवसमा आयोजित संघीय भेलाले संगठनको नाम परिवर्तन गरेर ‘युवा शक्ति नेपाल’ बनाएको हो ।
स्थापना दिवसको अवसरमा रमेश पोखरेलको नेतृत्वमा कार्यसमिति पुनर्गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएकोे छ ।
कांग्रेसको आपत्ति
नेपाली कांग्रेसले सुर्खेतस्थित पार्टी कार्यालयमा प्रहरी प्रवेश गरी आक्रमण भएको भन्दै आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी निरन्तर भएको मूल्यवृद्धिका विरुद्ध विद्यार्थीले गरेको प्रदर्शनपछि कांग्रेस सुर्खेतको जिल्ला पार्टी कार्यालयमा प्रहरीले प्रवेश गरी आक्रमण र धरपकड गरेको भन्दै आपत्ति जनाएका हुन् ।
उनले पञ्चायतकालमा समेत कांग्रेसको कार्यालयभित्रै पसेर प्रहरीले आक्रमण गर्ने घटना नभएको सरकारलाई स्मरण गराएका छन् ।
वडाध्यक्षहरु नै विजुली चोर
विजुली चोरीमा संलग्न काभ्रेका दुई वडाध्यक्षहरु पक्राउ परेका छन् । चोरी नियन्त्रणका लागि खटिएको नेपाल विद्युत प्राधिकरणको टोलीले काभ्रेको मण्डनदेउपुर नगरपालिका ७ का वडाध्यक्ष नारायण लम्साल र सप्तरीको तिरहुत गाउँपालिका ५ का वडाध्यक्ष रामानन्द चौधरीलाई पक्राउ गरेको हो ।