दाङ, १ फागुन- नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रलाई दुर्घटनाबाट बचाउने हो भने स्थानीय निकायको चुनाव गराउनुपर्ने बताएका छन्।
नेपाली काँग्रेस क्षेत्र नं-४ दाङले आइतबार आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै नेता कोइरालले २०७४ माघभित्र तिनै तहको चुनाव नभए देश जटिलतातिर जाने खतरा रहेकाले देशलाई बचाउने भए चुनाव गर्नुपर्ने विचार व्यक्त गरे।
उहाँले नेकपा (एमाले) र मधेसकेन्द्रित दललाई काँग्रेसले एक ठाउँमा उभ्याउनसक्ने बताए। कोइरालाले त्यसको लागि काँग्रेस जिम्मेवार र ठूलो पार्टी भएकाले काँग्रेसले पहल थाल्नुपर्ने धारणा राखे।
कोइरालाले देशको हरेक परिवर्तनमा काँग्रेसको अग्रणी भूमिका रहेको चर्चा गर्दै स्व कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले राष्ट्र र राष्ट्रियताका लागि गरेको त्यागलाई सबै नेताले आत्मसात गर्नुपर्ने बताए।
नेता कोइरालाले गणतन्त्र पनि सुरक्षित नभएकाले गणतन्त्रलाई संस्थागत गर्न पनि काँग्रेस लाग्नुपर्ने बताए। उनले देशमा परिपक्व नेता नभएका कारण पनि देशले यो अवस्था भोग्नुपरेको विचार राख्ने बताए। रासस