काठमाडौं, ३ असार – क्यानाडामा १२ वर्षीय एक किशोरलाई सलाद मन पर्दैनथियो । तर घरमा उनलाई सलाद दिइएपछि उनले इमर्जेन्सी नम्बरबाट प्रहरीलाई फोन गरे ।
उनले दुईचोटि ९११ मा फोन गरेर आमाबाले आफूलाई पटक्कै मन नपर्ने सलाद दिइएको बताए । प्रहरी किशोरको घर पुग्न नपाउँदै उसले फेरि फोन गरेर प्रहरी कतिखेर घर आइपुग्छ भनी सोधे ।
क्यानाडाको न्युज वेबसाइट सीबीसीका अनुसार, नोभा स्कोसियामा प्रहरीले मंगलवार राति ९११ मा एक इमर्जेन्सी कल रिसिभ ग–यो जसमा एक किशोरले सलाद पस्किइएको गुनासो ग–यो । प्रहरीले त्यहाँ पुगेर किशोरलाई सलादका
फाइदा मात्र बताएन, ९११ नम्बर कुन परिस्थितिमा मात्र डायल गर्नुपर्छ भनी जानकारी पनि दियो । आमाबालाई पनि यसको बारेमा प्रहरीले सम्झायो ।
एक प्रहरी अधिकारी हचिनसनले इमर्जेन्सी घटनामा मात्र ९११ मा फोन गर्नुपर्ने बताए । बच्चाले मात्र नभई आमाबाहरूले पनि ९११ को दुरुपयोग गर्ने गरेको उनले बताए ।
टीभीको रिमोट हरायो वा रेस्टुराँले समयमै खानाको अर्डर पस्केन भनेर पनि ९११ मा फोन आउने गरेको छ । एकचोटि त एक जोडी आमाबाले आफ्नो बच्चोले झुर हेयरकट गरायो भनेर गुनासो गर्न समेत ९११ मा फोन गरेका थिए ।
एजेन्सी