०४ असार २०८३, बिहीबार

सुर्खेतमा ५ जनाको ज्यान लिने ‘ज्यानमारा’ अटो बेलगाम, ट्राफिक प्रहरी निरीह !

असार ३, २०७५
सुर्खेतमा ५ जनाको ज्यान लिने ‘ज्यानमारा’ अटो बेलगाम, ट्राफिक प्रहरी निरीह !

सुर्खेत, ३ असार – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अटोका कारण हालसम्म ५ जनाको ज्यान गइसकेको छ । तर, ट्राफिक प्रहरी कार्यालय सुर्खेतले अटोमाथि नियमन गर्ने निकायबारे पत्ता लगाउन सकेको छैन ।

चालक अनुमतिपत्र (लाइसेन्स) नै नभएका व्यक्तिले चलाउने अटोकै कारण हालसम्म ५ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका प्रमुख हरिबहादुर विसीले आज पत्रकार सम्मेलन गरेर सुर्खेतमा ११ सयभन्दा बढी अटो रिक्सा सञ्चालनमा रहेको बताए । ‘अटो रिक्साको मनोमानीमाथि लगाम लगाउन प्रहरीसँग कुनै त्यस्तो अधिकार नभएकाले नियमन गर्ने निकायबारे अन्यौल रहेको छ,’ उनले निरीह हुँदै भने ।

जथाभावी अटो चलाइँदा सडकमा हिँड्ने नागरिकले असुरक्षाको महशुस गरेका छन् । प्रहरीका अनुसार सुर्खेतमा आर्थिक वर्ष २०७४/०७५ मा विभिन्न सवारी दुर्घटनामा परी ३५ जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा परी १ सय जना घाइते भएका छन् । जसमध्ये ५१ जना गम्भीर घाइते भएका छन् भने ४९ जना सामान्य घाइते भएका छन् । 

आर्थिक वर्ष २०७४/०७५ मा भदौंमा १, असोजमा १०, कात्तिकमा १६, फागुनमा १, चैतमा ८, बैशाखमा ४ र जेठमा ९ जनाको मृत्यु भएको छ । तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा ४१ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । जसमा बस ११, जीप ५, ट्रक ३, मोटरसाइकल १०, ट्याक्टर ८ र अन्य ५ वटा सवारीसाधन रहेका छन् ।

आर्थिक वर्ष २०७४/७६ मा जिल्लाभित्र ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न १२ हजार २ सय ८३ सवारीसाधन कारवाहीमा परेका छन् । जसबाट ७६ लाख ४३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । उक्त आर्थिक वर्षको साउनमा ७ सय ७२, भदौमा १ हजार १ सय ५३, असोजमा १ हजार ३ सय ९१, कात्तिकमा १ हजार २ सय ९, मंसिरमा ९ सय ४६, पुसमा ९ सय ४३, माघमा १ हजार १ सय ९१, फागुनमा १ हजार १ सय १४, चैतमा १ हजार ४ सय ३९, बैशाखमा १ हजार २ सय ९४, जेठमा १ हजार ३ सय ७१ सवारीसाधन कारबाहीमा परेका छन् ।

प्रमुख विसीले सुर्खेतमा दुर्घटना बढी हुनुको कारण पुराना सवारीसाधनको अवस्था राम्रो नहुनु, बाटोमा ट्राफिक साइनबोर्ड सबै ठाउँमा नहुनु र मापदण्ड विपरीत निर्माण भएको सडक रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्