२२ असार २०८३, सोमबार

आँखा स्वास्थ्य र सुरक्षा सम्बन्धी सार्क सम्मेलन काठमाडौंमा हुने

आँखा स्वास्थ्य र सुरक्षा सम्बन्धी सार्क सम्मेलन काठमाडौंमा हुने

काठमाडौं, ३ असार – आँखा स्वास्थ्य र सुरक्षा सम्बन्धी सार्क स्तरीय सम्मेलन आगामी असार ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा हुने भएको छ ।

सार्क एकडेमी अफ अफ्थाल्मोलोजी र नेपाल अफ्थाल्मिक सोसाइटीले संयुक्त आयोजनमा हुने सम्मेलनमा राष्ट्रिय र अन्तराष्ट्रिय विज्ञले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सम्मेलनलाई ‘१४ औं द्वैवार्षिक सार्क एकडेमी अफ अफथालमोलजी सम्मेलन २०१८’ नामाकरण गरिएको छ । सम्मेलनमा सार्क देश लगायत अमेरिका, बेलायत, रसिया, सेनेगल, जापान, क्यानडा, जर्मनी, चीन, सिंगापुर, दक्षिण कोरिया, ताइवान, इथियोपिया, घाना लगायत देशका आँखा चिकित्सकको सहभागिता रहने छ ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै आयोजकले सम्मेलनबारे जानकारी दिएको हो । सम्मेलनको मुख्य उद्देश्य सार्क अन्तर्गतका देशमा देखिएका आँखा स्वास्थ्य सम्बन्धी समस्या र समाधानको लागि नयाँ प्रविधिबाट गर्न सकिने रोकथाम, उपचार र निर्मुलीकरण विषयमा छलफल गर्नु रहेको आयोजक समितिका अध्यक्ष प्रा. डा. सुमन थापाले बताए । उनका अनुसार सार्कका देश भौगोलिक, आर्थिक, वातावरणीय हिसाबले पनि प्रायः एकै हुनाले आँखाको समस्या एकै खालको देखिने गरेको छ ।

सम्मेलनमा विश्वका विभिन्न देशबाट आएका नेत्र चिकित्सक, मध्यमस्तरीय आँखा स्वास्थ्यकर्मीद्वारा आँखा स्वास्थ्य सम्बन्धी अनुसन्धान, नयाँ प्रविधिको आविष्कार, दुर्लभ रोग, अन्धोपन न्यूनिकरण, उपचार र निर्मुल गर्ने विषयमा अनुभव आदानप्रदान गरिने छ । सम्मेलनको साइन्टीफिक कमिटीका सचिव डा. इली प्रधानका अनुसार आँखा स्वास्थ्यसँगै शिक्षा, आर्थिक, सामाजिक र भौगोलिक विकटता रहेको देशमा सर्वसुलभ ढंगबाट बिरामीलाई आँखाको उपचार विधि अपनाउने विषयमा पनि बृहत छलफल हुनेछ । 

सम्मेलनमा २४ बढी देशका आँखा स्वास्थ्य क्षेत्रको प्रमुख नेतृत्वकर्ता, वैज्ञानिक, अनुसन्धानकर्ता, शल्यचिकित्सक, सामान्य नेत्र विशेषज्ञ, आवासीय चिकित्सक, अस्पताल प्रशासन प्रमुख लगायतको सहभागी रहने आयोजक समितिका सचिव प्रा. डा. सविना श्रेष्ठले बताइन् । उनका अनुसार ६ सय जनाको सहभागिता रहने सम्मेलनमा आँखाका विभिन्न विधा बाल आँखा रोग तथा डेढो आँखा, आँखाको नानी, मोतीबिन्दु, सर्जरी, आँखाको नशा, आँखाको पर्दा, जलबिन्दु, आँखाको प्लास्टिक, अस्पताल प्रशासन लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिने छन् ।

हरेक २ वर्षमा गरिने सम्मेलन हालसम्म नेपालमा २ पटक सन् १९९१ र सन् १९९९ मा काठमाडौंमा सम्पन्न भएको थियो भने तेस्रो पटक काठमाडौंको याक एण्ड यति होटलमा आयोजना हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्