२८ जेठ २०८३, बिहीबार

उपेन्द्र देवकोटा : न्युरो सर्जरीका ‘शिखर पुरुष’देखि स्वास्थ्य मन्त्रीसम्म

उपेन्द्र देवकोटा : न्युरो सर्जरीका ‘शिखर पुरुष’देखि  स्वास्थ्य मन्त्रीसम्म

काठमाडौं, ४ असार – लामो समयदेखि उपचाररत वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको ६३ वर्षको उमेरमा निधन भएको छ । 

पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको आज साँझ काठमाडौंको बासवारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो । अस्पतालका प्रशासन प्रमुख वसन्त देवकोटाले डा. देवकोटाको साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको बताएका छन् ।

डा. उपेन्द्र देवकोटा चर्चित न्युरो सर्जन हुन् । उनले वीर अस्पताल र न्युरो  हस्पितलमा कार्यरत रहेर ३० वर्षको अवधिमा १८ हजार जनाको शल्यक्रिया गरेका छन् भने १० लाख बिरामीलाई जाँचेका छन् । उनले वीर अस्पतालमा २५ वर्ष सेवा गरे । तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा स्वास्थ्य मन्त्रीको जिम्मेवारीसमेत सम्हालेका देवकोटा काठमाडौंको बाँसबारीस्थित न्युरो हस्पिटलका सञ्चालक हुन् ।

विक्रम सम्वत् २०११ सालमा जन्मिएर गोरखाको अमरज्योति जनता मावि लुईंटेलबाट विद्यालय शिक्षा पूरा गरेका उपेन्द्र पढाइमा समेत अब्बल थिए । बुबा होमनाथले कविराज भएर बिरामीको सेवा गरेको देख्दा उपेन्द्रमा डाक्टर बन्ने सपना पलाएको थियो । भलिबल खेल, वादविवाद, वक्तृत्वकलाका मञ्च र निबन्ध प्रतियोगितामा सधैं प्रथम हुने देवकोटा सामान्य ज्ञानमा समेत राम्रो जानकारी राख्थे । विद्यालय शिक्षा अध्ययनकै क्रममा उनले गाउँमा सामाजिक गतिविधिमा संलग्न हुँदै धारा, बाटोघाटो निर्माण, सरसफाई, जुवातास नियन्त्रण लगायतका अभियान चलाउँथें ।

विद्यालय शिक्षा अध्ययन सकेर उनले अमृत साइन्स क्याम्पसबाट आइएस्सी गरे । आइएस्सीमा उनको बायोलोजीमा १ नम्बरले डिस्टिङ्सन पुगेन । त्यसअघि, बायोलोजीमा कसैले पनि फस्ट डिभिजन अंक ल्याउन सकेका थिएनन् । शिक्षा मन्त्रालयको छात्रवृत्तिमा उनले भारतको आसाम मेडिकल कलेजबाट एमबीबीएस गरे । भारतबाट फर्केर उनले १ वर्ष चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसमा हेल्थ असिस्टेन्टको पढाउने काम गरे ।

क्याम्पसमा पढाउँदै गर्दा उनी लोकसेवा पास भएर वीर अस्पतालमा खटिए । मेडिकल अफिसरको रुपमा वीरको सर्जरी विभागमा कार्यरत रहँदा २ वर्षमै उनी सर्जरी विभागको रजिस्ट्रार बने । ५ वर्षपछि उनी न्युरोसर्जरी पढ्न बेलायत गए । चिकित्सा शास्त्रमै सबैभन्दा जटिल विधा न्युरो सर्जरीको तालिम अवधि नसकिँदै पास गरेका कारण उनलाई बेलायतीले पनि सम्मान गर्यो । पढाइपछि तालिमका करीब ६ वर्ष उनले सिटी स्क्यान आविष्कारमा नोबेल पुरस्कार प्राप्त संस्थामा समेत काम गरे ।

उनले एमबीबीएस सकेपछि सन् १९८६ मा डा. मधु दीक्षितसँग विवाह गरे । उनका ३ छोरी छन् । बेलायतको अनुभवले खारिएपछि डा. देवकोटाले नेपालकै मेडिकल सेवालाई मजबुत बनाउने प्रतिक्षा गरे । स्वदेश फर्किएपछि उनकै नेतृत्वमा वीरमा सन् १९८९ मा न्युरो सर्जरी विभाग बन्यो । नेपाल फर्किएपछि उनले पहिलोपटक ब्रेन ट्युमरको शल्यक्रिया गरे । 

नेपालमा न्युरो सर्जरीको विकास गर्न सकिने भनेर उनले देखेको सपना पूरा भएको दिन थियो त्यो । उनले वीर अस्पतालमै लगातार २२ घण्टा लामो शल्यक्रिया समेत गरे  । १० वर्षपछि उनकै अनुवाइमा सन् १९९९ मा नेपालमा सार्क क्षेत्रको न्युरो सर्जिकल सम्मेलन भयो । सम्मेलनमा सहभागी हुन संसारभरबाट ३ सय न्युरो सर्जन नेपाल आएका थिए । 

वीर अस्पतालको सरकारी सेवामा उनले २५ वर्ष काम गरे । यसबीचमा उनी ७ महिना स्वास्थ्यमन्त्री भए । तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा स्वास्थ्यमन्त्री भएका कारण उनलाई राजावादीको आरोप समेत लाग्छ । तर, देवकोटा राजाका लागि नभएर जनताको सेवा गर्न मन्त्री भएको बताउँथे । स्वास्थ्यमन्त्री हुँदा उनले अध्यादेशमार्फत् चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) गठन गरेका थिए ।

बाँसबासीमा न्युरो अस्पताल एवं तालिम केन्द्र स्थापनाको सपना समेत उनले पूरा गरे । न्युरो अस्पताललाई उपचार, अनुसन्धान, पुनस्र्थापना र तालिम सबै विधाको केन्द्र बनाउने उनको सोच थियो । नेपालमा न्युरोसर्जरीको क्षेत्रमा भएको विकासको शिखर पुरुषका रुपमा डा. देवकोटालाई लिन सकिन्छ । उनी आफ्नो पुस्ताकै चर्चित र सफल न्युरो सर्जन हुन् । आफैंले स्थापना गरेको अस्पतालमा गत बैशाखदेखि उपचाररत डा. देवकोटाको आज साँझ निधन भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्