
काठमाडौं, ५ असार– प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि मंगलबार बिहान चीन प्रस्थान गर्नु भएको छ । चार मन्त्रीसहित १ सय १९ जनाको जम्बो टोली लिएर प्रधानमन्त्री ओली बिहान साढे ८ बजे हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरी चीन जानु भएको हो ।
प्रधानमन्त्री ओलीसँगै गृह मन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, उर्जा मन्त्री वर्षमान पुन तथा यातायात मन्त्री रघुबीर महासेठसहित अधिकांश उच्च पदका सरकारी अधिकारी भ्रमणमा गएका छन् ।
प्रधानमन्त्रीलाई उच्च सरकारी अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाई गरे । चीन भ्रमणको क्रममा ओलीले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ ।
ऊर्जा, जलस्रोत र पुनर्निर्माणका विषयहरुमा दुई देशबीच सम्झौता पनि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नु हुनेछ ।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही असार १० गते स्वदेश फर्कनेछ ।
कार्यवाहक प्रधानमन्त्रीमा पोखरेल
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्नुअघि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिनुभएको छ ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका कार्यवाहक नेतामा उपनेता सुवासचन्द्र नेम्वाङलाई जिम्मेवारी दिनुभएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि विदेशमा रहनुभएकाले नेता नेपाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको बताइएको छ ।