काठमाडौं, ५ असार– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकालाई आप्रवासीहरूको शिविर बन्न नदिने बताएका छन् ।
आप्रवासनप्रति आफ्नो प्रशासनले लिइरहेको नीतिको पक्षमा उभिएका राष्ट्रपति ट्रम्पको यो पछिल्लो प्रतिक्रिया हो । ‘संयुक्त राज्य अमेरिका आप्रवासीहरूका लागि एउटा शिविर बन्ने छैन ।’ राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा भने, ‘हेर्नुस् युरोपमा के भइरहेको छ, अरू ठाउँहरूमा पनि के भइरहेको छ त्यो पनि हेर्नुस्, हामी अमेरिकामा त्यो हुन दिने छैनौँ ।’
पछिल्लो समय सार्वजनिक तस्वीरहरूमा आवश्यक कागजात नभएका बालबालिकाहरूलाई टेक्ससस्थित तारवार लगाइएको एउटा केन्द्रमा राखिएको देखिन्छ । संयुक्त राष्ट्रसंघको मानव अधिकार निकायका प्रमुखले त्यो अवस्था स्वीकार गर्न नसकिने खालको भएको भन्दै ट्रम्प प्रशासनको नीतिको भत्र्सना गरेका छन्।