
काठमाडौं, ५ असार – भारतको मध्य प्रदेश राज्यकी राज्यपाल आनन्दीबेन पटेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अविवाहित रहेको बताएकी छन् ।
मध्य प्रदेशको एक गाउँमा आयोजित एक सरकारी कार्यक्रममा उनले यस्तो भनाइ राखेकी हुन् ।
हरदा जिल्लाको तिमारी गाउँको आँगनबाडी केन्द्रमा उनले बोलेको कुरा अहिले भाइरल भएको छ । कार्यक्रममा आनन्दीबेनले महिलाहरूलाई प्रधानमन्त्री मोदीको बिहे नै नभएको बताइन् ।
उनले भनिन्, ‘उहाँले विवाह गर्नुभएको छैन, थाहा छ नि तपाईंलाई ? महिला र बच्चाहरूको समस्या उहाँ अविवाहित भएपनि बुझ्न सक्नुहुन्छ ।’
आनन्दीबेनको यो बयानले भारतीय जनता पार्टीलाई अप्ठ्यारोमा पारेको छ । मोदीले चुनाव लड्ने बेलामा बनारसमा शपथपत्र नामाकंन गर्ने बेलामा जसोदाबेनसँग बिहे भएको लेखेका थिए ।
एजेन्सी