
काठमाडौं, ५ असार - फिफा विश्वकप २०१८ को उपाधि जित्न विश्वभरका ३२ टीम रुसमा भिडिरहेका छन् ।
विश्वभरका ५ महादेशीय कोटाबाट छानिएका टीमहरूबीच लिगकम नकआउट ढाँचामा खेल भइरहेको छ ।
विश्वकपमा सहभागी टीममध्ये सेनेगलका कोच एवम् सोही देशका पूर्वकप्तान एलियो सिसे यस विश्वकपका सबैभन्दा युवा प्रशिक्षक हुन् । त्यतिमात्र होइन, उनी विश्वकपका एकमात्र कालो वर्णका कोच पनि हुन् ।
सेनेगलले विश्वकपको आफ्नो शुरुवाती खेलमा आज पोल्याण्डसँग खेल्दैछ । यही खेलको पूर्वसन्ध्यामा स्पार्टक स्टेडियममा ४१ वर्षीय प्रशिक्षक सिसेसँग सोधिएको थियो- 'तपाईंले आफ्नो कालो वर्णका कारण यहाँ कुनै भेदभाव महसुस गर्नुभएको छ ?'
त्यसपछि थोरै मुस्कुराएका उनले आफ्नो असन्तुष्टि जाहेर गरे ।
उनले भने- 'रुस विश्वकपमा सहभागी ३२ टीममा म एकमात्र ब्ल्याक कोच हुँ । तर ब्ल्याक कोचको बहसले मलाई चिन्तित तुल्याउँछ । फूटबल संसारको खेल हो । यहाँ छालाको रंगले खासै महत्त्व राख्दैन । बरु एउटा ब्ल्याक कोच वर्ल्डकपको खेलमा टेक्निकल लाइनमा हिँड्दै गरेको देखिनु गर्वको कुरा हो ।'
उनले अघि भने- 'फूटबल छालाको रंगले खेल्ने होइन । यसको कुनै महत्त्व छैन । म अफ्रिकी नयाँ पिंडीका कोचको प्रतिनिधित्व गरिरहेको छु । हाम्रो आफ्नै पहिचान छ । आज जुन स्थानमा छौं, हामी त्यसको पूर्ण हकदार हौं ।'
स्मरण रहोस्, सेसेको कप्तानीमा सेनेगलले सन २००२ को विश्वकपमा शानदार प्रदर्शन गरेको थियो । आफ्नो शुरुवाती खेलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई हराएको सेनेगलले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो ।