
काठमाडौं, ५ असार – भारतको उत्तर प्रदेशको राजधानी लखनउमा रहेको चारबाग रेलवे स्टेसननजिक रहेको होटल विराट इन्टरनेसनलमा मंगलवार बिहान भीषण आगलागी भएको छ ।
त्यसमा परेर एक बालिकासहित पाँचजनाको मृत्यु भएको छ । तीनजनालाई गम्भीर हालतमा अस्पतालमा भर्ना गरिएको छ ।
आगोका कारण होटल पूरै जलेर खरानी भएको छ । अहिले उद्धार कार्य समाप्त भएको छ अनि सबै मानिसलाई बाहिर निकालिएको छ ।
होटलको बेसमेन्टमा रहेको बीयर बारमा आगो लाग्न शुरू भएको थियो । केही मिनेटभित्रै आगो पाँचतल्ले होटलभरि फैलियो । आगाका लप्का देखेपछि होटल कर्मचारीहरू भागे ।
होटलका विभिन्न कोठामा बसेका मानिस भित्रै फसे र हाहाकार हुन थाल्यो । स्थानीयहरूले आगो लागेको सूचना दकमल नियन्त्रण कक्षलाई दिए । बिहान गहिरो निद्रामा रहेका मानिसलाई सम्हालिने मौका पनि प्राप्त भएन ।
प्रहरी एसएसपी दीपक कुमारले बताए, ‘वरिपरिका मानिसले भनेअनुसार, बिहान साढे पाँच बजे होटलबाट धूवाँ निस्कन थाल्यो । प्रहरीलाई सबा ६ बजे यसको जानकारी दिइयो ।’
आगो फैलिएर विराट इन्टरनेसनल र एसएसजे इन्टरनेसनल होटललाई खरानी बनायो ।
एजेन्सी