०२ असार २०८३, मंगलबार

ट्रम्पलाई भेटेको आठ दिनपछि किम पुगे चीन

ट्रम्पलाई भेटेको आठ दिनपछि किम पुगे चीन

काठमाडौं, ५ असार – उत्तर कोरियाका नेता किम जोङ–उन मंगलवार बेइजिङ पुगेका छन् । उनले राष्ट्रपति सी चिनफिङसँग भेट्ने कार्यक्रम रहेको छ । 

दुवै नेताले अनेकौं अन्तर्राष्ट्रिय मुद्दामा कुराकानी गर्नुका साथै केही सम्झौताहरू पनि गर्ने सम्भावना छ । 

विगत चार महिनामा उनको यो तेस्रो चीन भ्रमण हो । अघिल्लो मंगलवार अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग शिखरवार्तापछि किमले चीनका राष्ट्राध्यक्षलाई भेटेका हुन् । 

किमले अमेरिकी राष्ट्रपतिसँग गरिएको कुराकानीका बारेमा सीलाई बताउनेछन् । 

चीनको सरकारी समाचार संस्था सिन्ह्वाले किमको भ्रमणको जानकारी दियो । 

किम पहिलोचोटि मार्चमा ट्रेन चढेर चीन पुगेका थिए । उनको दोस्रो भ्रमण मे महिनाको शुरूआतमा भएको थियो । दुवै भ्रमणलाई गोप्य राखिएको थियो । बेइजिङबाट उनी फर्केको धेरै समयपछि मात्र त्यसको जानकारी दिइएको थियो । 

लगातार आणविक परीक्षण गरेका कारण संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको थियो । त्यसपछि चीनले पनि उत्तरविरुद्ध कोइला र तेलको आपूर्ति बन्द गरिदिएको थियो । किमको भ्रमणपछि यो प्रतिबन्ध हट्ने आशा
गरिएको छ । 

साउथ चाइना मर्निङ पोस्टका अनुसार, भेटघाटमा किम र सीले आगामी रणनीतिको चर्चा पनि गर्नेछन् । 

ट्रम्पसँग भेटघाटपछि उत्तर कोरियाले आणविक हतियार नष्ट गर्ने घोषणा गरेको थियो । अमेरिकाले उसलाई सुरक्षाको विश्वास दिलाएको थियो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्