
काठमाडौं, ५ असार – विश्वकप फूटबलको छैठौं दिन मंगलवार तीनवटा खेल हुँदैछन् । कोलम्बिया र जापान पौने ६ बजे भिड्दैछन् भने पोल्यान्ड र सेनेगल पौने ९ बजे प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै रुस र इजिप्ट पौने १२ बजेदेखि भिड्दैछन् ।
रुस साउदी अरबलाई ५–० ले हराएर समूहको शीर्ष स्थानमा छ । इजिप्टलाई आज जितेमा ऊ अर्को चरणमा पुग्ने सम्भावना उच्च रहन्छ ।
इजिप्ट भने उरुग्वेसँगको पहिलो खेलमा १–० ले पराजित भएको थियो । इजिप्टका सुपरस्टार खेलाडी मोहम्मद सालाह फिट भएर टीममा फर्केका छन् र उनले रुसलाई कडा चुनौती दिने अपेक्षा छ । उनी अघिल्लो सीजनमा सबभन्दा तीव्र गतिका खेलाडी थिए ।
मैदानमा उनको टप स्पीड ३३ किलोमिटर प्रतिघन्टा हो । च्याम्पियन्स लीगको फाइनलमा उनको काँधमा चोट लागेको थियो ।
रुस र इजिप्ट विश्वकपमा पहिलोचोटि भिड्दैछन् । रुसले सन् १९७० पछि विश्वकपमा कहिले पनि लगातार दुई म्याच जितेको छैन । इजिप्टको कुरा गर्दा उसले विश्वकपमा अघिल्लो २७७ मिनेटयता कुनै गोल गरेको छैन ।
उता कोलम्बिया र जापान यसअघि तीनचोटि भिडिसकेका छन् । कोलम्बियाले दुई म्याच जितेको छ भने एउटा बराबरीमा टुंगिएको छ ।
कोलम्बियाको यो छैठौं विश्वकप हो । उसले अघिल्लो विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको थियो र क्वार्टफाइनलमा पुगेको थियो ।
जापान लगातार छैठौंपटक विश्वकपमा पुगेको हो । उसले सन् १९९८ मा विश्वकपमा पहिलोपटक छनोट भएदेखि लगातार यो ठूलो प्रतियोगिता मा भाग लिएको छ । सन् २००२ र सन् २०१० मा ऊ अन्तिम १६ मा पुग्न सफल भएको थियो ।
अनि पोल्यान्ड र सेनेगलको अहिलेसम्म कुनै पनि प्रतियोगितामा भेट भएको छैन । पोल्यान्डले सन् १९७४ को विश्वकपपछि कहिले पनि शुरूआती प्रतिस्पर्धा जितेको छैन । उसले सातचोटि विश्वकपमा भाग लिएको छ । सन् १९७४ को विश्वकपमा ऊ तेस्रो स्थानमा रहेको थियो । अन्य विश्वकपमा उसको प्रदर्शन खासै उल्लेख्य छैन ।
सेनेगलले सर्वोत्कृष्ट प्रदर्शन सन् २००२ को विश्वकपमा देखाएको थियो । त्यतिखेर उसले डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई समूह चरणमा हराएको थियो । ऊ त्यतिखेर क्वार्टफाइनलसम्म पुगेको थियो ।
एजेन्सी