
धनगढी, ५ असार– प्रदेश नं ७ मा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ‘हाम्रो प्रदेश राम्रो प्रदेश’ भन्ने नाराका साथ पर्यटनसम्बन्धी गतिविधि सञ्चालन हुने भएको छ ।
प्रदेश सरकारले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६को बजेट तथा कार्यक्रममा उक्त प्रदेशमा पर्यटकीयस्थलको प्रवद्र्धन र विकास गर्न पर्यटन बोर्ड स्थापना गरी पर्यटनका गतिविधि सञ्चालन गरिने उल्लेख छ ।
यसका लागि प्रदेशका नौवटै जिल्लामा पर्यटनका पूर्वाधार पहिचान तथा निर्माणका लागि रु १६ करोड ५० लाख विनियोजन गरिएको छ ।
यो प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न महाकाली, कर्णाली, सेतीलगायतका नदीमा र्याफ्टिङ (जलयात्रा) र पहाडी जिल्लामा प्याराग्लाइडिङजस्ता क्रियाकलाप सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति पनि सरकारको छ ।
नेपालको सबैभन्दा लामो तथा बढी पानीको सतह भएको कर्णाली नदीको कैलाली चिसापानीदेखि टीकापुरसम्मको भागमा जलयात्राका लागि निकै उपयुक्त देखिएको छ । यद्यपि अहिलेसम्म यो नदीमा व्यावसायिकरुपमा जलयात्रा सञ्चालन हुन सकेको छैन ।
प्रदेश सरकारको बजेट नीति कार्यक्रममा प्रदेशका महत्वपूर्ण ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक क्षेत्रलाई समावेश गरी धार्मिक पर्यटनको प्रवद्र्धन, पूर्वाधार विकास गर्ने नीतिअनुरुप सम्भाव्यता अध्ययन भई पहिचान भएका धार्मिक पर्यापर्यटन करिडोरको पूर्वाधार विकास गरिनेसमेत उल्लेख छ ।