२५ जेठ २०८३, सोमबार

सामाजिक क्षेत्रमा सँगै काम गरेका व्यक्तिको सम्झनामा डा. देवकोटा : थियो माटोप्रति अगाध प्रेम

सामाजिक क्षेत्रमा सँगै काम गरेका व्यक्तिको सम्झनामा डा. देवकोटा : थियो माटोप्रति अगाध प्रेम

वीर अस्पताल र न्यूरो  हस्पिटलमा कार्यरत रहेर ३० वर्षको अवधिमा १८ हजार जनाको शल्यक्रिया गर्ने र १० लाख बिरामीलाई जाँच्ने आफ्नो पुस्ताकै चर्चित र सफल न्यूरो सर्जन मात्रै नभएर र टाउको जोडिएको  जुम्ल्याहाको सिंगापुरमा गरिने शल्यक्रियाको अन्तर्राष्ट्रिय टोलीको नेतृत्व गरी न्यूरो जगतमा आफूलाई ख्यातिप्राप्त व्यक्तित्वको रूपमा स्थापित गर्न सफल पूर्वमन्त्री डा. उपेन्द्र देवकोटा लन्डनको किङ्स अस्पतालमा पित्तथैलीको क्यान्सरको उपचारार्थ ६ महिनाभन्दा लामो समय व्यतित गरेपनि केही नलागेपछि स्वदेशमा नै देहत्याग गर्ने इच्छाबमोजिम स्वदेश फर्किनुभएको थियो ।

त्यत्तिले मात्रै चित्त नबुझेर बिरामी अवस्थामा नै आफू जन्मेको घरको पिँढीमा सुस्ताउने र त्यहाँको सिस्नेधाराको पानी पिउने इच्छा गरेबमोजिम उहाँलाई गत जेठ २६ गते हेलिकप्टरमा त्यहाँ लगिएको थियो । त्यहाँ पीडासँग जुधिरहेका उहाँ सयौं शुभचिन्तकमाझ घेरिँदा मुहारमा चमकता देखियो । चम्चाबाट दुईपटक सिस्नेधाराको पानी पिउँदा अमृत पिएसरी भो उहँलाई बाल्यकालमा पिउने गरेको जन्मभूमिको जल । त्यो जल पिउनासाथ डा. देवकोटाको मुहारमा अलौकिक कान्ति छायो । उहाँले सञ्चो महसुस गर्नुभयो । लाखौं नेपालीको शुभेच्छाका बाबजुद् ४ असारका दिन आफैंले स्थापना गरेको बाँसबारीस्थित न्यूरो अस्पतालमा ६४ वर्षको उमेरमा ५ बजेर ३५ मिनेट जाँदा भएको निधनसंगै न्यूरो सर्जरीका ‘शिखर पुरुष’को देहावसान भएको छ ।

विक्रम सम्वत २०११ सालमा जन्मिएर गोरखाको अमरज्योति जनता मावि लुइँटेलबाट विद्यालय शिक्षा पूरा गर्नुभएका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका सहपाठी डा. उपेन्द्रले अमृत साइन्स क्याम्पसबाट आइएस्सी गर्दा बायोलोजीमा कसैले पनि फस्ट डिभिजन अंक ल्याउन नसकेकोमा उहाँले १ नम्बरले डिस्टिङ्सन ल्याउन सकेनन् । शिक्षा मन्त्रालयको छात्रवृत्तिमा उहाँले भारतको आसाम मेडिकल कलेजबाट एमबीबीएस गर्नुभयो ।

मेडिकल अफिसरको रूपमा वीरको सर्जरी विभागमा कार्यरत रहँदा २ वर्षमै उहाँ सर्जरी विभागको रजिस्ट्रार बन्नुभयो । ५ वर्षपछि उहाँ अनुसन्धानका लागि एकदमै प्रख्यात र त्यतिबेला विश्वमै एक नम्बरको बेलायतको ग्लासगोमा न्यूरो सर्जरी पढ्न जानुभयो । चिकित्सा शास्त्रमै सबैभन्दा जटिल विधा न्यूरो सर्जरीको तालिम अवधि नसकिँदै पास गरेका कारण उहाँलाई बेलायतीले पनि सम्मान गर्‍यो । पढाइपछि तालिमका करीब ६ वर्ष उहाँले सिटी स्क्यान आविष्कारमा नोबेल पुरस्कार प्राप्त संस्थामा समेत काम गर्नुभयो । जिन्दगीमा पाएको त्यो एक्स्पोजरले उहाँको सोचाई, आँट र सीपलाई अझै परिष्कृत बनायो ।

स्वदेश फर्किएपछि उहाँकै नेतृत्वमा वीरमा सन् १९८९ मा न्यूरो सर्जरी विभाग बन्यो । नेपाल फर्किएपछि उहाँले पहिलोपटक ब्रेन ट्युमरको शल्यक्रिया गर्नुभयो । उहाँले वीर अस्पतालमै लगातार २२ घण्टा लामो शल्यक्रिया समेत गर्नुभयो । १० वर्षपछि उहाँकै अगुवाइमा सन् १९९९ मा नेपालमा सार्क क्षेत्रको न्यूरो सर्जिकल सम्मेलन भयो, जसमा संसारभरबाट ३ सय न्यूरो सर्जन नेपाल आएका थिए ।

वीर अस्पतालमा सो अवधिसम्म यति प्राज्ञिक र क्लिनिकल विकास भइसकेको थियो कि सम्मेलनमा प्रस्तुत १३० वटा कार्यपत्रमध्ये १७ वटा त वीर अस्पतालका मात्रै थिए । सम्मेलनमा नेपालमा न्यूरो सर्जरी क्षेत्रमा भएको विकासलाई संसारले प्रशंसा गर्‍यो ।

डा. उपेन्द्रले सरकारी सेवामा रहँदा नसा तथा न्यूरो विशेषज्ञ डाक्हटररूको ठूलो जमात उत्पादन गर्नुभयो । निजी प्रयासबाट उहाँले सञ्चालन गरेको बाँसबारीस्थित न्यूरो अस्पताल त्यही सोचको उपज हो ।

राजा ज्ञानेन्द्रको शासनकालमा ७ महिना स्वास्थ्यमन्त्री भएपछि डा. उपेन्द्र डाक्टरकै रूपमा काम गर्न शुरु गर्नुभयो । स्वास्थ्यमन्त्री हुँदा उहाँले अध्यादेशमार्फत् चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) गठन र नेपालमै विशेषज्ञ डाक्टर उत्पादन शुरु भयो । दुर्गममा पोष्टमार्टम गर्ने चिकित्सक नपाइने अवस्थामा सरकारी चिकित्सक गाउँ जान तछाडमछाड गर्ने अवस्था आयो । दुईवर्ष दुर्गममा बसेपछि सरकारले पोस्टग्राजुयट (पीजी) निःशुल्क पढाइदिने नीति अबलम्बन गरेको कारण त्यस्तो अवस्था आएको थियो । विशेषज्ञ चिकित्सक उत्पादनमा नेपालले एउटा इतिहास रच्यो ।

डा. उपेन्द्र देवकोटा स्वास्थ्य मन्त्री रहँदा स्वास्थ्य बिमा लागू गर्नुपर्छ भनेर प्रक्रिया अगाडि बढाउनुभएको थियो । सरकार परिवर्तनसंगै यो त्यत्तिक्कै परिरह्यो । विगत सरकारको समयमा स्वास्थ्यमन्त्री गगन थापाले यो मुद्दालाई अगाडि बढाए र स्वास्थ्य बिमा विधेयक संसदबाट सर्वसम्मत पारित भएको छ । यसअन्तर्गत गरीब, निम्न वर्गीय परिवारले बिमामार्फत् उपचार गर्न सक्नेछन् ।

बिमा ऐन लागू भएसँगै गरीबीकै कारण नागरिक उपचारबाट बञ्चित हुनुपर्ने छैन । हरेक नागरिकको स्वास्थ्य बिमा राज्यले गर्नेछ । अब पैसा नभएपनि उपचार पाउन सकिनेछ । नेपालको स्वास्थ्य क्षेत्रमा जनहितका खातिर यो सबैभन्दा ठूलो क्रान्तिकारी कदम हो । अब यसलाई ठोस योजनासहित कार्यान्वयनतिर सरकार यथाशीघ्र लाग्नुपर्ने हुन्छ । डा. देवकोटा बेलायत बस्दाको ज्ञानको उपज हो नेपालमा स्वास्थ्य बिमा अवधारणा ।

वृद्धभत्ता शुरुवात गर्न एमाले सरकारलाई सल्लाह डा. उपेन्द्र देवकोटाकै थियो । सवारीसाधनमा सिटबेल्ट बाँध्ने, मोटरसाइकलमा बस्ने दुबैले हेल्मेट लगाउनुपर्छ भन्ने अवधारणा, मादक पदार्थ सेवनको जाँचलाई कडाई गर्नुपर्छ भन्ने सोच उहाँको थियो । विकसित देशमा नागरिक र सामाजिक सुरक्षालाई उच्च प्राथमिकता दिने गरिन्छ र डा. देवकोटाले बेलायत पढ्दा त्यहाँको यी क्षेत्रको अनुभवलाई नेपालमा पनि लागू गराउने सपना अनुरूप यी अवधारणाहरुलाई अगाडि बढाउनुभएको थियो ।

डा देवकोटाको सोचाइ प्रत्येक क्षेत्रीय अस्पतालमा डाक्टर पढाउने भन्ने पनि थियो । सरकारीस्तरमै मेडिकल कलेजको संख्या पनि बढाउन चाहनुहुन्थ्यो । त्यसो गर्न सकिएको भए अहिले चिकित्सक र विशेषज्ञ उत्पादनको नाममा करोडौं रुपयाँ विदेशिनबाट जोगिन सक्थ्यो । डा. उपेन्द्रले वीर हस्पिटलमा आफूले वार्षिक ६५० जति बिरामीको न्यूरोको अप्रेसन (टाउकोको शल्यक्रिया) गर्ने र त्यत्तिकै संख्यामा बिरामीहरू भारतलगायत विदेशमा उपचारका लागि जाने भएकोले नेपालबाट ठूलो रकम उपचारका लागि बाहिरिने भन्दै सरकारलाई छुट्टै न्यूरो अस्पताल बनाउने नीतिअन्तर्गत बजेट व्यवस्था गर्न प्रस्ताव गर्ने प्रयास मनमोहनको अल्पमतको सरकार अल्पायुमै ढलेपछि त्यत्तिक्कै रह्यो । डा. उपेन्द्रको छुट्टै सरकारी न्यूरो हस्पिटल खोल्ने सपना अधुरै रह्यो । पछि प्रदीप नेपाल स्वास्थमन्त्री भएको समयमा डा. उपेन्द्र देवकोटाले भेट गरेर न्यूरो अस्पताल खोल्नका लागि बजेटमा ३ करोड बजेटको प्रस्ताव राख्नुभयो । त्यतिबेला मन्त्री नेपालले हुन्छ भनेर आश्वस्त पार्नुभए तापनि बजेट आउने बेलामा पार्टीनजिक रहेका निजी अस्पतालका केही सञ्चालकको घेराउमा परेर मन्त्री नेपालले सरकारी न्यूरो अस्पताल निर्माण गर्न बजेट विनियोजन गर्न सक्नुभएन । सरकारी न्यूरो अस्पताल खोल्ने उहाँको सपना पुन: धरापमा पर्‍यो ।

डा. उपेन्द्रले सरकारी सेवामा रहँदा नसा तथा न्यूरो विशेषज्ञ डाक्हटररूको ठूलो जमात उत्पादन गर्नुभयो । निजी प्रयासबाट उहाँले सञ्चालन गरेको बाँसबारीस्थित न्यूरो अस्पताल त्यही सोचको उपज हो । गरीब, विपन्न तथा सर्वसाधारण जनताको पहुँचबाहिर नै भए पनि मध्यम, उच्च तथा सम्पन्न वर्गले देशभित्रै गुणस्तरीय उपचार सेवा प्राप्त गरिरहेका छन् जस्का कारण उपचारका लागि देशबाट बाहिरिने ठूलो रकम रोकिएको छ ।

एउटा मिटिङमा अस्पातलको लागि आवस्यक जग्गाको प्रश्न उठाउनुभएकाले गोगंबुको मेरो घर नजिकको जग्गामा तानतुन गरी १० रोपनी पुर्‍याउन नसकिएपछि उहाँ बाँसबारी पुग्नुभएको थियो । न्यूरो अस्पताललाई उपचार, अनुसन्धान, पुनर्स्थापना र तालिम सबै विधाको केन्द्र बनाउने उनको सोच थियो ।

डा. देवकोटाले स्वास्थ्य क्षेत्रमा आफूलाई आफ्नो जीवनकालभरीकै 'अतुलनीय शिखर पुरुष'को रूपमा मात्रै प्रमाणित गरेनन्, मन्त्री भएपछि राजनीतिमा गहिरो ज्ञानका बाबजुद् राजनीतिमा लाग्ने अन्य सबैले जस्तै त्यसमा टासिनतिर नलागी आफ्नै पेशामा फर्किएर आफ्नै पेशालाई निरन्तरता दिने अर्को उदाहरणीय काम पनि गरे । मन्त्री हुँदा समेत आफ्नो चिकित्सकीय पेशा नछाडी मन्त्रालयको काम सकेर बेलुका अस्पतालमा गएर नियमित अपरेसन गर्ने डा. देवकोटा आवश्यक परे राति १-२ बजे मात्र घर फर्किनुहुन्थ्यो । अन्तरर्वार्ता दिन बस्दा समेत बिरामीका लागि फोन गर्न इमर्जेन्सी नम्बर आफ्ना सहयोगीलाई प्रदान गरी त्यस्का लागि तयार रहनेजस्ता उहाँको दायित्व र कर्तव्यबोधले छोटो समयावधिमा नेपालको न्यूरो सर्जनलाई ठूलो फड्को मार्नसक्ने बनाउनुभयो ।

विडम्बना! जीवनभरी अरुलाई रोगबाट मुक्त गराएर आफू भने रोगसँग पराजित भई यो संसारबाट विदा हुनुभएको छ, डा. देवकोटा ।

डा. देवकोटाका बारेमा आफ्नो जिल्लालाई ध्यान नदिएको भन्ने आवाज उठ्न थालेकै बेलामा १९९० को दशकमा गोरखाबाट काठमाडौं आएर बसोबास गर्ने गर्खालीहरूले काठमाण्डौ बसेर पनि गोरखाका लागि केही गर्ने उद्देश्य अनुरूप उहाँ संस्थापक अध्यक्ष रहनुभएर गोरखा समाज सेवा केन्द्र खोल्नुभयो । गोरखाको तत्कालीन २ नम्बर क्षेत्रलाई समेटेर खोलिएको जस्तो आभास दिने खालको कार्यसमिति देखिएकोले सोही उद्देश्यका साथ गोरखाको सबै क्षेत्रलाई समेटेर हामी युवाहरूले रिड नेपालका राष्ट्रिय निर्देशक शरदबाबु श्रेष्ठ अध्यक्ष र म उपाध्यक्ष भएर फ्रेण्ड्स अफ गोरखा खोल्ने बित्तिक्कै दुई संस्थालाई एकीकरण गर्ने प्रस्ताव आएपछि फ्रेण्डस अफ गोरखाको अध्यक्ष र उपाध्यक्षलाई कायमै गरी नयाँ कार्य समिती बनाउने काम भयो । गोरखा समाज सेवा केन्द्रको उहाँहरूले अभिभावकत्व ग्रहण गर्न चाहनु भएकोले ।

त्यसपछिका हाम्रा कतिपय बैठक डा. देवकोटाकै घरमा आयोजना गर्ने गर्थ्यौं, उहाँको समयको महत्त्वलाई ध्यानमा राखेर । मिटिङको क्रममा त्यसबेला करीब ८-९ वर्षकी छोरीले आफैंले केही खानेकुरा बनाएर ल्याएर खुवाउने गरेबाट उहाँहरू श्रीमान/श्रीमती दुवैजना डाक्टर भएर व्यस्त जीवन व्यतित गर्दागर्दै पनि परिवारमा त्यस किसिमको पारिवारिक संस्कारमा ध्यान दिएको देखिन्थ्यो ।

कतिपयले उहाँलाई घमन्डी, रिसाहा र सन्काहा स्वभावको भन्ने गर्थे, तर उहाँसँगको केही वर्षको निकटताले खासमा उहाँ एकदम कोमल हृदयको व्यक्तिको रूपमा पाएँ । निश्चितरूपमा अनावश्यक चाकडी र ज्यूहजुर गर्ने बानी भने उहाँमा थिएन । अहिले समाजमा अनुशासनको मूल्य कम हुँदै गएको उहाँको ठहर भएकोले अनुशासनप्रतिको निष्ठा त्यस किसिमको भनाइका लागि कारक हुनसक्छ ।

७ कक्षामा पढ्दापढ्दै गाउँका साथीहरू मिलेर आफैँले विधान लेखी गाउँ सुधार समिति खोले खोल्नुभयो । धारा, बाटोघाटो सफा गर्ने, गाउँमा जुवातास निषेध गर्ने अभियान चलाउनुभयो । तिहारमा कौडा चलिरहँदा पुलिस बोलाएर जुवासमेत बन्द गराउनुभयो ।

विडम्बना! जीवनभरी अरुलाई रोगबाट मुक्त गराएर आफू भने रोगसँग पराजित भई यो संसारबाट विदा हुनुभएको छ, डा. देवकोटा । उहाँले देखाएको माटोप्रतिको माया स्तुत्य छ । उहाँले नजिकिँदै गरेको मृत्युलाई साहसिक रूरुपमा स्वीकार्नुभयो । मृत्युको त्रास कहिल्यै व्यक्त गर्नुभएन । यो स्वभाव विशेषगरी जीवन र जगतको गहनतालाई आत्मासात गर्ने आध्यात्मिक पुरुषहरूको हो ।

आफू गए पनि लाखौंको मन मस्तिस्कमा आफूप्रतिको अगाध श्रद्धाको विजारोपण गरेर जानुभयो । यही त हो महानता । हार्दिक श्रद्धाञ्जली डा. देवकोटा !  
 

salt training

कमेन्ट गर्नुहोस्