
म्याग्दी, ७ असार – म्याग्दीको मालीका गाउँपालिका–३ डाँडागाउँको वडा कार्यालयमा पूर्वाधार नहुँदा बालविकास केन्द्रको भवनबाट सेवा प्रवाह हुँदै आएको छ ।
वडा कार्यालयको आफ्नै भवन नभएपछि स्थानीय किटिनी बालविकास केन्द्रको एउटा कोठाबाट सेवा दिँदै आएको हो । स्थानीय तहमा जनप्रतिनिधिले नेतृत्व गरेको एक वर्ष बिते पनि वडाको कार्याको व्यवस्था हुन नसक्दा समस्या भएको वडा अध्यक्ष हेमबहादुर पुनले बताए । उक्त केन्द्रको भवनको एउटा कोठामा स्थापना भएको वडा कार्यालयमा जनप्रतिनिधि र कर्मचारी बसेर काम गर्ने फर्निचरको समेत व्यवस्था छैन ।
डाँडागाउँ राज्य पुनःसंरचनाअघि तत्कालीन रुम गाविसमा समावेश थियो । डाँडागाउँ, अदिभारा, किटेनी, औंला, पात्ले, इँग्रे गाउँलाई समेटेर बनाइएको मालीका– ३ मा ५०० भन्दा बढी घरधुरी छन् । पूर्वाधारको अभाव खेपिरहेको यस वडामा जनशक्तिको समेत अभावले सेवा प्रवाहमा पनि समस्या हुँदै आएको छ । यस वडामा वडा सचिवसमेत छैनन् । मालिका गाउँपालिकाको २, ३ र ४ नम्बर वडाको सचिवका रुपमा रमाकान्त घिमिरेले काम गर्दै आएका छन् ।
अनुगमनका क्रममा हालै डाँडागाउँमा पुगेका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका र उपाध्यक्ष खरमाया बिटालुले कार्यालय र जनशक्तिको व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता जनाए ।