०४ असार २०८३, बिहीबार

दुर्गम जिल्लामा खोई त किताब ?

कात्तिक २०, २०७४
दुर्गम जिल्लामा खोई त किताब ?
काठमाडौं, फागुन २- मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला र डोल्पामा आइतबार नयाँ शैक्षिक सत्र सुरु भएको छ। ती दुर्गम जिल्लामा पठाउनुपर्ने पुस्तक भने आइतबारसम्म काठमाडौंमै छन्।
पाँचै जिल्लामा भर्ना अभियान सुरु गरिए पनि १ देखि १० सम्मका सबै पुस्तक नआएको शिक्षा कार्यालयहरूले जनाएका छन्। डोल्पाका निमित्त जिल्ला शिक्षा अधिकारी सिंहराज डाँगीले पुस्तक आउने क्रममा रहेको बताए। कक्षा १ देखि ५ को पुस्तक नेपालगन्जमै नभएको उनले बताए।
उनका अनुसार कक्षा ६ देखि १० सम्मको ३ हजार ४ सय ७६ सेट पुस्तक चाहिनेमा एक हजार ६ सय ५८ सेटमात्रै नेपालगन्जबाट व्यापारीले उठाएका छन्। 'कक्षा १ देखि ५ सम्मका पुस्तक निजी प्रकाशनले छाप्न सकेका छैनन् भन्ने सुनेको छु,' उनले भने, 'बेलैमा पुस्तक ल्याउन पहल गरिरहेको छु। हामीले चाहेर पनि बेलैमा पुर्‍याउन नसक्ने भयौं।'
डोल्पामा आइतबार भर्ना टिकाउ अनि गुणस्तरीय शिक्षा, भर्ना अभियान सफल पार्ने डोल्पालीको इच्छा भन्ने नारा दिएर विद्यार्थी भर्ना अभियान सुरु भएको छ। नेपालगन्जबाट डोल्पामा गाडी र खच्चडबाट पुस्तक ढुवानी गर्न चार दिन लाग्छ। कतिपय विद्यालय पुग्न सदरमुकामबाट एक साता पनि लाग्छ। शैक्षिक सत्र सुरु भएकै दिन नेपालगन्जमा समेत पुस्तक पुगेको छैन।
डोल्पामा आठ व्यापारीलाई जिल्लाका एक सय १५ विद्यालयमा पुस्तक पुर्‍याउने जिम्मेवारी दिएकामा यसपालि तीन जना पछि हटेको उनले बताए। विद्यालयले पुस्तक प्राप्त गरेको प्रमाणित गर्नुपर्ने व्यवस्था गरेपछि तीन व्यापारीले पुस्तक नै नल्याएको डाँगीले बताए।
मुस्ताङका विद्यार्थीका लागि आवश्यक पर्ने पुस्तक जनक र निजी दुवैले पुर्‍याउन बाँकी छ। व्यापारीहरूले शिक्षा कार्यालयलाई पुस्तक जिल्ला पुगिसकेको गलत जानकारी गराएका छन्। '३ देखि १० कक्षासम्मको पुस्तक जिल्लामा ल्याइसकेको जानकारी गराएका छन्,' मुस्ताङका निमित्त शिक्षा अधिकारी मोतीलाल चपाईंले भने, 'स्कुल खुलेका छन्। शिक्षकहरू आउन थालेका छन्। किताबचाहिँ आउँद छ भन्ने सुनेको छु।'
जुम्लामा रंगीन पुस्तक पुगेको छैन। जुम्लाका जिल्ला शिक्षा अधिकारी कुलबहादुर फटेराले ६ देखि १० कक्षासम्मको पुस्तक जिल्ला पठाए पनि विद्यालय पठाउन बाँकी रहेको बताए। 'कक्षा १ र २ को बाहेक अरू पुस्तक आइसक्यो,' उनले भने, 'चैतसम्म सबै विद्यार्थीले पुस्तक पाउँछन्।' शिक्षा मन्त्रालयले यस वर्षदेखि कक्षा १ र २ को पुस्तक रंगीन बनाएको छ। रंगीन पुस्तक छाप्ने जिम्मेवारी निजी प्रेसलाई दिइएको समाचार मकर श्रेष्ठले कान्तिपुर दैनिकमा लेख्‍नुभएको छ।

salt training

कमेन्ट गर्नुहोस्