
सुर्खेत, १२ असार – मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) मा उज्ज्वल भविष्य बोकेर इन्जिनियरिङ्ग पढिरहेका विद्यार्थीले आवश्यक पाठ्यक्रम र पुस्तकको माग गरेको ३ वर्ष भइसक्यो । तर, विश्वविद्यालयले विद्यार्थीका माग हालसम्म पूरा गर्न सकेको छैन ।
लामो आन्दोलन गर्दा पनि माग पूरा नहुँदा विद्यार्थीले आन्दोलन छाडेका छैनन् । विद्यार्थीले इन्जिनियरिङ्ग संकायलाई स्वायत्त बनाइनुपर्ने लगायतका माग राखिरहेका बेला विश्वविद्यालय प्रशासनले असार ७ गतेदेखि पठनपाठन बन्द गराएको छ । आन्दोलित विद्यार्थीले सडक प्रदर्शन समेत गर्ने गरेका छन् । विगत ३ वर्षदेखि निरन्तर आन्दोलन गर्दै आएका विद्यार्थी निकुञ्ज पाण्डेले विश्वविद्यालयले विद्यार्थीबाट पैसा मात्रै असुल्ने गरेको आरोप लगाए ।
‘हामीबाट ५/५ लाख रुपैयाँ असुल्ने तर अध्यापन नगराउने प्रणाली कायम भयो,’ उनले भने, ‘गुणस्तरीय शिक्षा चाहियो भन्ने हाम्रो मुख्य माग हो ।’ तर, विद्यार्थीका मागलाई विश्वविद्यालय प्रशासनले कहिल्यै सुनुवाई नगरेको उनको गुनासो छ ।
इन्जिनियरिङ्ग संकायलाई स्वायत्त बनाइनुपर्ने, हाइड्रो इन्जिनियरिङ्गको पूर्ण पाठ्यक्रम उपलब्ध गराउनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था गरिनुपर्ने, सम्पूर्ण प्रयोगात्मक कक्षा पूर्णरुपमा सञ्चालन गर्नुपर्ने, १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने, लाइव्रेरीमा पर्याप्त पुस्तक उपलब्ध गराउनुका साथै छुट्टै लाइब्रेरियनको व्यवस्था गर्नुपर्ने र सम्पूर्ण विषयको विषयगत शिक्षकको उचित व्यवस्थापन गर्नुपर्ने विद्यार्थीका माग रहेका छन् ।
आन्दोलित विद्यार्थी धर्मराज पन्थीले विश्वविद्यालयले संकायका लागि आवश्यक बजेट नदिने गरेको आरोप लगाए । ‘हामीलाई प्रशिक्षणको आवश्यकता पनि हुन्छ,’ उनले भने, ‘त्यसका लागि विश्वविद्यालयले आवश्यक रकम दिनुपर्छ ।’ तर, रकम अभावका कारण विद्यार्थीले धेरै कुरा सिक्न नपाएको उनले बताए । ‘लाखौं खर्च गरेर पढ्न आएका हौं,’ उनले भने, ‘संकायलाई स्वायत्तता दिएमा मात्रै हाम्रो माग पूरा हुन्छ ।’
संकायका डीन डा. गोविन्दप्रसाद लामिछानेले आर्थिक र प्रशासनिक अधिकार केन्द्रीकृत भएकाले विद्यार्थी आन्दोलित भएको बताए । ‘४ जना शिक्षक मागेको ठाउँमा १ जना मात्रै उपलब्ध गराइएको छ,’ उनले भने, ‘विद्यार्थीले शिक्षक पाउने कि नपाउने ?’ विद्यार्थीले स्तरीय शिक्षा पाउन नसकेको स्वीकार्दै उनले प्रशासनले संकायलाई हेला गरेको आरोप लगाए ।
‘टेक्निकल क्षेत्रका समस्या उहाँहरूले बुझ्न सक्नुभएन,’ एमयूका रजिस्टार र भिसीलाई इंगित गर्दै उनले भने, ‘मलाई काम गर्ने वातावरण नै उहाँहरूले दिनुभएको छैन ।’ आफू विगतमा अन्यत्र पनि डीन भएको बताउँदै मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा संकायलाई घेराबन्दीमा पारिएको उनले बताए ।
विश्वविद्यालयका रजिस्टार डा. महेन्द्रकुमार मल्लले शिक्षकका लागि विज्ञापन गरिएको तर स्नातकोत्तर गरेका शिक्षक काठमाडौंभन्दा बाहिर जान नमान्ने भएकाले आवश्यक मात्रामा पदपूर्ति गर्न नसकिएको बताए । तर, संकायमाथि कुनै पनि खालको भेदभाव नगरेको उनले दावी गरे ।
‘प्राविधिक विषयको अध्ययनमा लाग्नुपर्नेमा विद्यार्थीहरू आन्दोलनमा लाग्नु दुःखद हो,’ रजिस्टार डा. मल्लले भने, ‘हामी अहिले बाहिर छौं, सुर्खेत आएर छलफल गछौंं ।’ विद्यार्थीले हड्ताल गरेको भन्ने सुनेका कारण संकायमा अध्यापन कार्य बन्द गराउन निर्देशन दिएको बताए ।