२५ असार २०८३, बिहीबार

बलात्कारपछि हत्या प्रकरणका अभियुक्त पक्राउ

बलात्कारपछि हत्या प्रकरणका अभियुक्त पक्राउ

विराटनगर, १३ असार – मोरङको मिक्लाजुङ गाउँपालिका–७ की शान्ति राई तामाङको बलात्कार गरी हत्या गरिएको प्रकरणका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय ३० वर्षीय हिकबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो । मोरङ्ग मिक्लाजुङ–७ को ग्यांग्री खोलामा तामाङको विभत्स हत्या गरी फ्याँकिएको अवस्थामा  शव फेला परेको थियो ।

शान्तिको हत्याको केही दिनअघि मात्र सनम शाक्यको हत्या भएकाले प्रहरीलाई अनुसन्धानमा समेत समस्या पर्दै आएको प्रहरी स्रोतले जनाएको छ । तर, सुन तस्करी र सनम शाक्यको घटनामा संलग्नको अनुसन्धानमा प्रहरीलाई भार घटेपछि प्रहरीको टोली अन्य घटनामा केन्द्रीत भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटनामा संलग्न व्यक्तिको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय उर्लाबारीको संयुक्त प्रहरी टोलीले बस्नेतलाई आज पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ परेका बस्नेतलाई मोरङ जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

यसरी भयो हत्या 

गत फागुन १९ गते राति गाउँमा धामी लगाउने कुरा भएछ । गाउँका सबै जना धामी हेर्न भनेर गएका थिए । उनलाई पनि गाउँमा धामी बस्ने कुराले जाउँ जस्तै लागेको थियो । अनि, उनी पनि धामी बसेको मिक्लाजुङ्ग–७ स्थित कमल बोहराको घरमा धामी बसेको हेर्न गइन् ।

फर्किंदा अलि राति नै भइसकेको थियो । एक्लै फर्कंदै गरेकी शान्तिलाई हिकबहादुरले भेटे । स्थानीय बिर्सना राईको होटलबाट मदिरा सेवन गरी फर्कंदै गरेका हिकबहादुरले बेलगौडेमा खैनी, चुरोट खाए । त्यहाँ भेटेपछि हिकबहादुरले शान्तिलाई ‘घरमा पुर्याईदिन्छु’ भन्दै लगे । उनी शुरूमा त जान मानेकी थिइनन् । तर, बाटो एउटै पर्ने भएकाले उनले शान्तिलाई फकाए ।

रक्सीले मातिएर टिल्ल भएका हिकबहादुरले बाटोमा सँगै जाँदै गरेकी शान्तिलाई मिक्लाजुङ–७ स्थित ग्यांग्री खोलामा बलात्कारपश्चात् ढुंगाले प्रहार गरी विभत्स हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्