
काठमाडौं, १६ असार– रुसमा जारी विश्वकप फुटबल खेलमा शनिबारबाट नकआउट चरणका खेल शुरु हुँदैछन् । शनिबार दुईवटा खेल हुनेछन् ।
नेपाली समय अनुसार बेलुका पौने ८ बजे फ्रान्सले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । खेल कजान एरिनामा हुनेछ । फ्रान्स समूह ‘सी’ को विजेता तथा अर्जेन्टिना समूह ‘डी’ को उपविजेताको रुपमा अन्तिम १६ मा आएका हुन् ।
समूह चरणमा ३२ देशबीच भएका ४८ खेलबाट १६ टिम प्रि–क्वाटर फाइनलमा आएका छन् ।
यस्तै शनिबार हुने दोस्रो खेलमा पोर्चुगल र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समय अनुसार राति पौने १२ बजे सोचीमा हुनेछ ।
उरुग्वे समूह ‘ए’ को विजेता तथा पोर्चुगल समूह ‘बी’ को उपविजेताको रुपमा अन्तिम १६ मा आएका हुन् । शनिबारका दुई खेलका विजेताले क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।