
काठमाडौं, १७ असार – १७ अगस्ट २००५ का दिन लामोलामो कपाल भएको १८ वर्षे एक ठिटो सेतो र आकाशे निलो धर्सा मिश्रित जर्सीमा दगुर्दै मैदान छिर्यो ।
बुडापेस्टस्थित फेरेन्च पुस्कास स्टेडियममा ६४औं मिनेटमा घरेलु टोली हंगेरीविरुद्ध १८ नम्बरको जर्सी लगाएर मैदान प्रवेश गर्ने ठिटो एकदिन विश्वकै सर्वोत्कृष्ट खेलाडी बन्छ भनेर कतिपयले सायद त्यतिबेलै अनुमान गरिसकेका थिए ।
त्यस्तो अनुमान किनपनि भने- उनले युरोपको चर्चित क्लब बार्सिलोनाबाट आफ्नै जादूयी प्रदर्शनको बलमा लाखौं फ्यान कमाइसकेका थिए । ती खेलाडी अरु कोही नभएर वर्तमान विश्व फूटबलका एक महान खेलाडी लियोनल मेस्सी थिए ।
अर्जेन्टाइन स्ट्राइकर लोपेजलाई प्रतिस्थापन गर्दै मैदान छिरेका मेस्सीको डेब्यू खेल बिर्सनलायक रह्यो ।
उनी मैदान प्रवेश गर्नेबित्तिकै बल लिएर विपक्षीको पोस्टतर्फ अघि बढे । मेस्सीको चर्चा सायद हंगेरियन खेलाडीले पनि सुनिसकेका थिए- त्यसैले उनलाई अघि बढ्न दिनु उचित ठानेनन् ।
विपक्षी खेलाडीले जर्सी तानेर उनलाई अघि बढ्न दिएनन्, त्यसक्रममा असन्तुलित भएका मेस्सीको हातले पछाडि रहेर आफ्नो जर्सी तान्ने खेलाडीको अनुहारमा लाग्यो ।
रेफ्रीले मेस्सीलाई रातो कार्ड देखाए । उनको डेब्यु खेल ४६ सेकेण्डमै टुंगियो । यो नै उनको करीयरकै एकमात्र रेडकार्ड पनि हो ।
हेर्नुहोस् भिडियो :
अहिले तिनै मेस्सी अर्जेन्टिनाको सर्वाधिक गोलकर्ता बनिसकेका छन् । बार्सिलोनाका तर्फबाट क्लब फूटबलमा देखाएको चामत्कारिक प्रदर्शनका कारण कीर्तिमानी ५ पटक वर्ष खेलाडी घोषित भइसकेका छन् भने क्लबको जर्सीमा उनले जित्न बाँकी त्यस्तो कुनै उपाधि नै छैन ।
देशका लागि पनि उपाधि जित्न उनले अधिकतम् प्रयास गरे । सन २०१४ को विश्वकपमा फाइनलमा पुगेर पराजित भए पनि उनले प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल जितेका थिए ।
त्यसपछि महादेशीय प्रतियोगिता कोपा अमेरिकामा लगातार २ पटक फाइनल पुगेर पराजित भए । सन २००४ मा जितेको ओलम्पिक गोल्ड मेडल नै मेस्सीले अर्जेन्टिनाका लागि जितेको एकमात्र उपाधि बन्यो ।
हाल मेस्सी ३१ वर्षका भए । उनको टीम रुसमा जारी फिफा विश्वकपको प्री-क्वार्टर फाइनलमा फ्रान्ससँग पराजित भएर बाहिरिएको छ । मेस्सीले २ वटा गोलका लागि पास मिलाए, तर उनको टीम ४-३ ले पराजित भयो ।
सो खेलमा मेस्सीलाई अर्का एक युवा खेलाडीले माथ दिए । उनी हुन्- फ्रान्सका टिनेजर (१९ वर्षीय) किलियन एम्बाप्पे ।
एम्बाप्पेले आफ्नो गतिले अर्जेन्टाइन डिफेन्सलाई हायलकायल परे । पहिलो गोलका लागि पेनाल्टी आर्जन गरेका एम्बाप्पेले आफ्नो गतिलाई नै सदुपयोग गर्दै थप दुई गोल गरे । एम्बाप्पे सन् १९५८ मा पेलेले स्वीडेनविरुद्ध एकै खेलमा दुई गोल गरेयता एकै खेलमा दुई गोल गर्ने एकमात्र युवा खेलाडी बनेका छन् ।
जारी विश्वकमा उनले ३ गोल गरिसकेका छन् ।
धेरैले एम्बाप्पेबारे शनिबारको खेलबाटै जानकारी पाए पनि विश्व फूटबलमा उनको नाम चम्किएको एकवर्ष पार भइसकेको छ ।
फ्रान्सेली टीम मोनाकोबाट आफ्नो प्रभाव विस्तार गरेका एम्बाप्पेलाई खरिद गर्न गत सिजन युरोपका प्रतिष्ठित क्लबहरूले सकेसम्मको बल लगाएका थिए ।
विशेष गरी रियल मड्रिड तथा बार्सिलोना, म्यान्चेस्टर युनाइटेड, म्यान्चेस्टर सिटीलगायत क्लबको प्रयासलाई विफल पार्दै फ्रेन्च जाइन्ट पेरिस सेन्ट जर्मेनले बाजी मार्यो । करीब १८० मिलियन युरोमा खरिद समेत गर्नसक्ने विकल्पसहित लोनमा उनलाई क्लबमा भित्र्याउन सफल भयो ।

एम्बाप्पेले पीएसजीबाट २७ खेल खेल्दै १३ गोल गरिसकेका छन् । पीएसजीमा उनले नेयमार तथा कभानीलाई माथ दिने प्रदर्शन गर्दै आएका छन् ।
सायद अब फूटबलमा पुस्तान्तरण हुँदैछ । ३१ वर्षे मेस्सी र ३३ वर्षे क्रिस्टियानो रोनाल्डोलाई १९ वर्षका एम्बाप्पेले माथ दिन थालेका छन् ।
यद्यपि एम्बाप्पेलाई मेस्सी र रोनाल्डोसँग अहिले नै तुलना गरिहाल्नु हतार हुनेछ । मेस्सी र रोनाल्डोको स्थानमा पुग्न उनले धेरै कठिन यात्रा तय गर्न बाँकी छ ।