
काठमाडौं, १७ असार –सूर्य चिह्नबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका सांसद हृदयेश त्रिपाठीले संविधानले गरेका कतिपय व्यवस्था कार्यान्वयन हुन बाँकी रहेको भन्दै उदासीन नबन्न सरकारको ध्यानाकर्षण गराएका छन् । तीन तहको चुनाव गरेर आकाशका सबै तारा झारिसक्यौं भन्ने भ्रममा नपर्न उनले आग्रह गरे ।
‘मैले यो कुरा गर्दा धेरैलाई अमिलो लाग्ला, नमिठो लाग्ला, धेरैलाई एकदुई इञ्च घाउ पनि लाग्न सक्छ,’ प्रतिनिधिसभाको आइतवारको बैठकको विशेष समयमा त्रिपाठीले भने, ‘संविधानमा भएको विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्र कहाँबाट आउने हो ?’
संविधानमा भएका यी व्यवस्था कार्यान्वयन नहुँदा संवैधानिक संकट आउने दाबी गरे । ‘तीनवटा चुनाव गराएर हामी आकाशका सबै तारा झारिसक्यौं । तर संविधानमा उल्लेख भएको यी विशेष क्षेत्र कसले गठन गर्ने हो ? कहाँबाट गर्ने हो ?’ त्रिपाठीले भने, ‘संविधानका पिता, काका र मामालाई आग्रह गर्न चाहन्छु । कार्यान्वयनको लहरबाट यो नछुटोस्, संविधानलाई तिरस्कार नगरियोस् ।’
त्रिपाठीलले संविधानमा भएको यो व्यवस्था कार्यान्वयनमा गम्भीरतापूर्वक सोच्न सबै पक्षको ध्यानाकर्षण गराए ।
राष्ट्रिय जनता पार्टीबाट असन्तुष्ट भई स्वतन्त्र राजनीतिक समूहमार्फत सूर्य चिह्न लिएर चुनाव लडेका त्रिपाठी पछिल्ला दिनमा सरकारप्रति आक्रामक रूपमा प्रस्तुत हुन थालेका छन् ।
प्रधानमन्त्री केपी ओली सरकारमा त्रिपाठी मन्त्री हुने चर्चा चले पनि अन्तिम समयमा उनको नाम काटिएको थियो ।.