
काठमाडौं, १७ असार –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद राजन केसीले सरकारले काठमाडौंका विभिन्न क्षेत्रमा गरेको निषेधित क्षेत्रको निर्णय फिर्ता नलिए कांग्रेसको नेतृत्वमा निषेधित क्षेत्र तोड्ने बताएका छन् ।
सरकारका पछिल्ला निर्णयबाट आमनागरिक त्रसित बनेको उनको भनाइ छ । ‘यही खालको निर्णय, यसको फोटोकपी ज्ञानेन्द्र सरकारको पालमा तत्कालीन गृहमन्त्री कमल थापाले गरेका थिए । उनले पनि विरोध प्रदर्शनका लागि भक्तपुरको चौर देखाएका थिए,’ प्रतिनिधिसभाको आइतवार बसेको बैठकको विशेष समयमा कांग्रेस सांसद राजन केसीले भने, ‘पुनरावृत्ति दोहोरिएको छ, पात्र फेरिएका छन्, रामबहादुर थापा गृहमन्त्री भएका छन्, हिजो कमल थापा थिए, यो लोकतन्त्रविरोधी काम भएको छ ।’
सरकारले निषेधित क्षेत्रको निर्णय तत्काल नसच्याए कांग्रेसको नेतृत्वमा निषेधित क्षेत्र तोडिने उनले बताए । ‘जुन ठाउँमा विरोध गर्छ, त्यहाँ निषेधित क्षेत्र घोषणा गरिनु लोकतन्त्रविरोधी कदम हो, संविधान र मौलिक हकविरोधी कमद हो, प्रतिपक्षको सालिनतालाई कमजोर नलिओस्,’ उनले चेतावनी दिए ।
राज्यका ज्यादतिविरुद्ध आवाज बुलन्द गर्न नपाउनु कहाँको लोकतन्त्र हुन्छ भनेर उनले प्रश्न गरे । ‘आज सत्तापक्षमा रहेका दललाई प्रश्न गर्न चाहन्छु, विगतमा रत्नपार्क र शहीद गेटका रेलिङले के अपराध गरेका थिए ?’ एमालेप्रति कटाक्ष गर्दै केसीले भने ।
गृहमन्त्री थापालाई कमल थापाको फोटोकपी भन्दै तुलना गर्ने केसी काठमाडौं १० बाट चुनाव जितेका कांग्रेसका सांसद हुन् । २०७० सालको संविधानसभा चुनावमा केसीले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पराजित गरेका थिए ।
२०७४ सालको चुनावमा गृहमन्त्री रहेका रामबहादुर थापा चुनाव लड्ने चर्चा थियो । पछि यो क्षेत्रबाट हितमान शाक्य चुनाव लडेका थिए ।