
काठमाडौं, १७ असार–बजारमा भइरहेको मूल्यबृद्धि र महंगीले आफूहरुलाई गिज्जाइरहेको सत्तारुढ दलकै सांसदहरुले बताएका छन् । उनीहरुले बजारमा अनुभव गरेर कृतिम अभाव गर्नेमाथि कारवाही गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको आइतवार बसेको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुले बजार अनुगमनलाइ प्रभावकारी बनाएर महंगी नियन्त्रण गर्न माग गरेका हुन् ।
नेकपाका खगराज अधिकारीले महंगीले आफूहरुलाई गिजाइरहेको बताए । ‘महंगीले गिजाइरहेको छ, बजार अनुगमन गरेर कृतिम अवाभ सृजना गर्नेलाई कारवाही गर्नुपर्छ’ उनले भने ।
नेकपाकै अमृता थापाले कृतिम रुपमा भइरहेको कृतिम अभाव र महंगी नियन्त्रण गर्न बजार अनुगमन गरेर कालाबजारी माथि कारवाहीको माग गरिन ।
प्रतिनिधि सभाको बैठकमा मूल्यबृद्धि र कालोबजारीको बिषयमा प्रत्येक दिनजस्तो आवाज उठ्ने गरेको छ ।
गृहमन्त्री थापा कमल थापाको फोटोकपी !
बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदले सरकारले काठमाडौंका विभिन्न क्षेत्रमा गरेको निषेधित क्षेत्रको निर्णय फिर्ता नलिएर कांग्रेसको नेतृत्वमा निषेधित क्षेत्र तोड्ने बताए ।
सरकारका पछिल्ला निर्णयबाट आम नागरिक त्रसित भएका र प्रजातन्त्र विरोधीको रुपमा लिएको उनले दावी गरे । ‘यही खालको निर्णय, यसको फोटोकपी ज्ञानेन्द्र सरकारको पालमा तत्कालीन गृहमन्त्री कमल थापाले गरेका थिए । उनले पनि विरोध प्रदर्शनका लागि भक्तपुरको चौर देखाएका थिए’ कांग्रेस सांसद राजन केसीले भने, ‘पुनराबृत्ति दोहोरिएको छ, पात्र फेरिएका छन्, रामबहादुर थापा गृहमन्त्री भएका छन, हिजो कमल थापा थिए, यो लोकतन्त्र विरोधी काम भएको छ ।’
सरकारले निषेधित क्षेत्रको निर्णय तत्काल नसच्चाएमा कांग्रेसको नेतृत्वमा निषेधित क्षेत्र तोडिने उनले बताए । ‘जुन ठाउँमा विरोध गर्छ त्यहाँ निषेधित क्षेत्र घोषणा गरिनु । लोकतन्त्र विरोधी कदम हो, संविधान र मौलिक हक विरोधी कमद हो, प्रतिपक्षको सालिनतालाई कमजोर नलिओस्’ उनले चेतावनी दिए ।
राज्यका ज्याजतिविरुद्ध आवाज बुलन्द गर्न नपाउनु कहाँको लोकतन्त्र हुन्छ भनेर उनले प्रश्न गरे । ‘आज सत्तापक्षमा रहेका दललाई प्रश्न गर्न चाहान्छु, विगतमा रत्नपार्क र शहीद गेटका रेलिङले के अपराध गरेका थिए ?’ एमालेप्रति कटाक्ष गर्दै केसीले भने ।