
काठमाडौं, १७ असार– विभिन्न युरोपियन देशका क्रूज (पानी जहाज) तथा ग्रीसमा काम लगाइदिने भन्दै लगेका नेपालीलाई टर्कीमा अलपत्र पार्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिमहिना ७५० अमेरिकी डल तलब पाउने गरी काम दिलाइदिने सपना देखाएर विभिन्न नेपालीलाई टर्की पुर्याउने विष्णु सिवाकोटी पक्राउ परेका हुन ।
गोरखाको आरुघाट गाउँपालिका–३ घर भएका सिवाकोटीले विभिन्न नेपालीलाई युरोपियन क्र्रूजमा काम लगाइदिने, टर्कीमा पुगेपछि अस्थायी बसोबास अनुमतिपत्र (टीआरसी) मिल्ने तथा अस्ट्रेलिया, क्यानडालगायत देशमा समेत जान मिल्ने भन्दै प्रतिव्यक्तिबाट ६ लाख ५० हजारदेखि ८ लाख रुपैयाँसम्म उठाएर ठगी गर्ने गरेका थिए ।
उनीमार्फत टर्की पुगेर अलपत्र परी नेपाल फर्किएका नेपालीले दिएको उजुरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले सिवाकोटीलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
पीडितको उजुरीका आधारमा चितवनको साविक वघौडा गाविस–६ ठेगाना भएका निरन्जन भट्टराई भने गत जेठमा नै पक्राउ परिसकेका थिए ।
निरन्जन भट्टराई र विष्णु सिवाकोटी दुवै जनाले नेपालीलाई विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।