
विराटनगर, १८ असार –सुनसरीको हरिनगर गाउँपालिका टप्राकी करिब २५ बर्षिय सरिता खातुन घुस्की स्वास्थ्यचौकीमा आइसन चक्की लिन आइन् । आइतवार बिहान करिब ११ बजेतिर कार्यालयमा आउँदा उनी जस्ता धेरै आइरन चक्की लिनको लागि आएका थिए । उनी आएर सिधै अनमी अञ्जली यादवलाई भेट्न पुगिन् । करिब ७ महिनाको पेटको बच्चा लिएर २ किलोमिटर टाढाबाट आएकी उनले स्वास्थ्य चौकीमा आईरन चक्की पाईनन् ।
एकैछिन पछि हरिनगरा ७की अर्की सेवाग्राही रुप्सना खातुन आईपुगिन् उनीसँगै उनका श्रीमान पनि स्वास्थ्य चौकीमा आएका थिए । रुप्सनाले पिल्स मागिन् अस्पतालकी मासिकाले पिल्स छैन भनिन् । उनी त्यहाँबाट ओपिडि हेर्ने राजेश कुमार साहसँग गएर जीवनजल र जुकाको औषधी माग्दा पनि नभएपछि उनीहरुले स्वास्थ्य चौकी प्रशासनसँग आक्रोश पोखे । केहीबेर तनाव भयो ।
केही दिन अघिमात्र ६१ बर्षिक एक महिला ज्वरोको उपचारको लागि भन्दै घुस्की स्वास्थ्य चौकीमा नै आएकी थिईन् । उनी ज्वरोको औषधि लिनको लागि २ किलोमिटर टाढाबाट हिँडेर आएकी ति महिलाले एउटा सिटामोल समेत नपाएपछि उनी त्यसै फर्किनुपर्ने अबस्था आएपछि अस्पताल प्रशासनले ति महिलालाई बाहिरबाट औषधि किनेर पठायो ।
यी त सुनसरीको हरिनगर गाउँपालिकाको प्रतिनिधि घटना मात्र हुन । यस्ता घटना पछिल्ला दिनमा सामान्य हुन थालेका छन् । गाउँपालिकाले बजेट नदिँदा समस्या देखिँदै गएको हो । पिल्सको लागि एक महिना देखि धाउँदै आएकी अञ्जलीले एक पिल्स पाउन नसकेको बताईन् । लामो समयदेखि पिल्स लिन आउँदा सँधै भोली भोली भनेर पठाउने गरेको उनको गुनासो छ ।
सुनसरीको हरिनगर गाउँपालिका अन्तरगतको घुस्की र रामनगर भुटाहा स्वास्थ्यचौकीमा चरम औषधि अभाव भएको छ । बिगत ३ महिना देखि औषधि अभाव हुँदा सर्बसाधारण सिटामोल समेत नपाएर फर्किने गरेका छन् ।
यहाँ महिलाले नियमित प्रयोग गर्ने सँगिनी सुई समेत पाउन छाडेको ४ महिना पुगिसकेको छ । गर्भनिरोधक साधनको रुपमा प्रयोग हुने संगीनी सुई यहाँका महिलाले ६० प्रतिशत प्रयोग गर्दै आएका छन् भने ३० प्रतिशत पिल्स चक्कीको प्रयोग गर्ने गरेका छन् ।
स्थानीय तह कार्यान्वयनमा आएको एक बर्ष ३ महिनामा जम्मा २ पटक मात्र संगिनी सुई पठाएको स्वास्थ्य चौकीकी ईन्चार्ज रानी खातुनले बताईन् ।
स्वास्थ्य संस्थामा पिल्स २ महिना देखि अभाव देखिएको छ । ४ महिनादेखि संगिनी सुईको अभाव छ । २ महिना देखि जुकाको औषधि समेत बिरामीले पाउन सकेका छैनन् । एक महिना देखि जीवन जलसमेतको अभाव भएको स्थानीय सेवाग्राही बताउँछन् । स्वास्थ्य संस्थामा सामान्य रुघाखोकी र ज्वरो आउँदा दिने एन्टीबायोटिकको समेत अभाव भएको छ ।
यो क्षेत्रका सर्बसाधारणमा देखिने छाला सम्बन्धि समस्याको औषधि समेत दिन नसकिएको खातुनले बताईन् ।संगिनी सुई नलाउने महिला पिल्स प्रयोग गर्न थालेका छन् । ६० प्रतिशत महिलाले प्रयोग गर्दै आएको संगीनी सुईको अभावका कारण ति महिलाहरु गर्भ निरोधक साधनमा पिल्स चक्कीको प्रयोग गर्न थालेको अस्पतालकी ईन्चार्ज खातुन् बताउँछिन् । ‘अब पिल्सको पनि अभाव देखिएकोले उनीहरु समस्यामा परेको बताउँछन्,खातुन्ले भनिन्, औषधिको अभाव भएकै हो, त्यो बारेमा गाउँपालिकासँग माग गर्दा पनि लामो समयदेखि औषधि दिईएको छैन ।’

पहाडी तथा हिमाली क्षेमा औषधिको अभाव भएको समाचारहरु आउनुलाई सामान्य लिईन्थ्यो तर जिल्ला सदरमुकाम ईनरुवा तथा एक नम्बर प्रदेश राजधानी बिराटनतगरबाट करिब १ घण्टा बसमा सहजै पुग्न सकिने घुस्कीमा औषधि अभाव भएको हो ।
यस बारेमा गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले सरकारले पठाएको रकम अपुग भएको कारण औषधि अभाव भएको बताए । पछिल्लो समय संघीय सरकारले औषधि खरिद तथा बिक्रीको अधिकार स्थानीय तहलाई दिएको छ ।
अध्यक्ष अन्सारी हरिनगर गाउँपालिकाकाले चालु आर्थिक बर्षमा १५ लाखको औषधि खरिद गरेर वितरण गरेको पनि बताए ।
तर, केही दिन अघि मात्र खरिद गरिएको ६ लाखको औषधि गाउँसम्म नपुगेको बताइएको छ ।
गाउँपालिकाको स्टोरमा ती औषधि थन्किएर बसेको अध्यक्ष अन्सारी स्वीकार गर्छन । उनले भने, ‘६ लाखको औषधि खरिद गरेर स्टोरमा राखिएको छ, किन नपुर्याएको भनेर मैले स्वास्थ्य संयोजकसँग सोधिसकेको छु ।’ ४०–
४५ हजारको जनसंख्या रहेको हरिनगरमा १०–१५ लाखको औषधिले नपुग्ने अध्यक्ष अन्सारीले बताए ।
हरिनगरमा मात्र हैन अन्य स्थानीय तहमा पनि पछिल्ला दिनमा औषधि अभाव भएको छ।