
तुलसीपुर (दाङ) १८ असार – पश्चिम दाङको बबई गाउँपालिका–५ मा पर्ने टवाङ् खोलामा आज आएको बाढीले ना१ख १८६१ नम्बरको यात्रुबाहक बस बगाएको छ ।
स्थानीयवासी तथा प्रहरीले उद्धार गरेकाले बस बगाएपनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए ।
बस बगालेबाट तुलसीपुरतर्फ आउँदै थियो । २ दिनदेखि परेको अविरल वर्षाका कारण दाङको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण तुलसीपुर, घोराही र लमही सडकखण्डमा पर्ने १ दर्जन खहरे खोलामा बाढी आउँदा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।
आज बिहान ठूला गाडी छिटफुटरुपमा सञ्चालन भएपनि दिउँसो भने खोलामा पानीको बहाव बढेपछि बन्द रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उता, दाङको राप्ती र बबई नदीमा पानीको बहाव बढेपछि त्यस आसपासका सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले बबई र राप्तीमा पानीको बहाव बढेको हुँदा बाढी र पहिरोको जोखिम बढेको भन्दै म्यासेज पनि पठाएको छ ।
दाङमा आइतवारदेखि आएको अविरल वर्षा अहिले पनि जारी छ । विद्युत् र इन्टरनेट सेवा पनि नियमित हुन सकेको छैन ।