
बुटवल, १८ असार – रूपन्देहीको दुःखका रूपमा चिनिने तिनाउ, दावन र कञ्चन नदीले हरेक वर्षको वर्षायाममा वितण्डा मच्चाउँछ । तर, ती ३ वटै नदीबाट हुने जोखिन न्यूनीकरणका लागि स्थानीय तहले कुनै चासो दिएका छैनन् ।
रुपन्देहीका १६ मध्ये १२ स्थानीय तह नदी तटीय क्षेत्रमा पर्छन् । २ वर्ष अगाडि बुटवल उपमहानगरपालिकाले जिल्ला रेडक्रस सोसाइटीको पहलमा बाढीको पूर्वसूचना दिने साइरन घण्टी जडान गरिन बताइएपनि अहिलेसम्म कुनै काम गरिएको छैन । गत वर्षको बाढी बुटवल–१३ स्थित हात्तीसँुढको झोलुङ्गे पुल बगाएको थियो ।
नदी कटानले बुटवल–११ बुद्धनगरमा २० घरधुरी विस्थापित भएका थिए । तिनाउमा करीब २० वटा खहरे खोलाहरू मिसिन्छन् । ३ दिनदेखि परेको पानी तिनाउको बहाव बढेको छ । जिल्ला रेडक्रस सोसाइटी र मौसम तथा जलवायु केन्द्रले पाल्पास्थित नदीमा पानीको बहाव मापन गर्ने वाटर ग्रेडमा राखिएको छ ।
राष्ट्रिय विपद् प्रतिकार्य टोली (एमडीआरटी) का संयोजक सन्तोष शेरचनले तिनाउमा बाढीको पूर्वसूचना जानकारी दिने प्रभावकारी संयन्त्र नहुँदा तिनाउ नदी तटीय क्षेत्रका वासिन्दा जाग्राम रहने बताउँछन् । बुटवल बजार क्षेत्र हुँदै बग्ने तिनाउ नदी रूपन्देहीकै ठूलो नदी हो ।
‘पाल्पा दोभानस्थित तिनाउमा (वाटर ग्रेड) राखिएको छ । त्यसलाई डुवायो भने मैले रेडक्रसलाई जानकारी गराउँछु । अन्य कुनै विश्वसनीय जानकारीमूलक सूचना छैन,’ उनले थपे, ‘शिद्धबाबामा जुनसुकै बेला पहिलो जान्छ । पहिरोले केही समय थुनियो भने त्यसले पु¥याउने क्षति कल्पना गर्न पनि सकिँदैन ।’
२०३८ सालमा तिनाउमा ठूलो बाढी आउँदा पूर्वपश्चिम राजमार्ग जोड तिनाउ पुल बगाएको थियो । त्यही तिनाउ नदी फुटेर तिनाउ र दावन बनेको थियो । बाढीले लाहुरे टोलको १ सय ५० घरधुरी बगाएको थियो भने १ सयभन्दा मृत्यु भएको थियो । २०५४ सालमा पनि २०६५ सालमा पनि बाढी आएको थियो । तिनाउ नदीका बारेमा जानकार इन्जिनियर खेटराज दाहालले तिनाउमा आउने बाढीबारे पूर्व जानकारी हुन नसके ठूलो क्षति पु¥याउन सक्ने बताए ।
‘सुकुम्बासीको नाममा खोलामा घर बनेका छन् । पानी पर्ने क्रम बढ्दै गएको छ । यसबारे स्थानीय सरकार बेलैमा सचेत हुनुपर्छ,’ इन्जिनियर दाहालले भने । तिनाउ, सुखौरा, कञ्चन, रोहिणी लगायत खोलाहको बहाव क्षेत्रमा सुकुम्बासीको नाममा घरहरू बनेको छन् ।
हरेका पार्टीका नेताले आफ्नो भोट बैंकका रूपमा सार्वजनिक जग्गा र नदी किनारामा बस्दै आएका वस्ती हटाउन चाहेनन् । अहिले विपद् तिनै सुकुम्बासी वस्तीमा आउने देखिन्छ ।
रोहिणी, दानव, तिनाउ, कञ्चन ठूला नदी हुन् । वातावरण विज्ञ युवराज कँडेलले स्थानीय तहदेखि जिल्ला प्रशासनको विपद्बारे कुनै तयारी तयारी नगरिएको बताए । उनले भने, ‘पूर्वतयारी गर्दैनन् । विपद्को घटना भएपछि राहात बाँड्न कसिन्छन् ।’
कुनै पूर्वतयारी गर्दैनन् राहात, बाँड्न सक्दैनन् । बाढी निकासको बाटो खोज्दैनन् । तिलोत्तमामा उत्तरी क्षेत्र, देवहको उत्तरपूर्वी क्षेत्र, सैनामैनाको उत्तरी क्षेत्र, मर्चवारीमा हरेक वर्ष डुबान हुने गर्छ । मौसम विज्ञान विभागले सूचना दिएको ठूलो बाढी आउने भन्दै सचेत रहन आग्रह गरेको छ ।